मृतावस्थामा बाघ भेटिने क्रम वृद्धि

मृतावस्थामा बाघ भेटिने क्रम वृद्धि


चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।

गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन् । तीमध्ये अधिकांश एकापसमा जुधेर मरेका छन् । बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको तिवारीको भनाइ छ ।

‘बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन् । अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन् । चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन्’, उनले जानकारी दिए । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले या पोथी छुट्याउन कठिन हुने गरेको छ ।

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन् ।

ज्ञातव्य छ, सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।