भाजपाले कम सिट जित्नुका एक दर्जन कारण !

भाजपाले कम सिट जित्नुका एक दर्जन कारण !


१. म नै सर्वेसर्वा हुँ, अरु सबैले मेरो कुरा मान्नुपर्छ, सुन्नुपर्छ, चाहे ती आदित्यनाथ योगी नै किन नहुन् ! जसअन्तर्गत मोदीले आदित्यनाथलगायत पार्टीका वरिष्ठदेखि साँच्चै प्रभावशाली व्यक्तिहरूको सल्लाह सुझावलाई पनि पटक-पटक मात्र होइन, चुनावमा उम्मेदवार बनाउँदासमेत योगीद्वारा सिफारिस गरिएका दर्जनौं उम्मेदवारहरूलाई उपेक्षा गरे र, बिचौलिया दलालहरूलाई टिकट बाँडे ।

२. ‘हिन्दू मुस्लिम भाइ भाइ’ भन्ने स्वच्छ भावना भएका करोडौँ इन्डियनविरुद्ध, ‘इन्डिया भनेको हिन्दूहरूको हो, अरूको कुनै स्थान छैन, म आफू निश्चित अंग भएको पुरुष नभएर, एक विशेष दूत हुँ जस्तो लाग्छ’ भनेरसमेत सार्वजनिक रूपमै उनले घोषणा गरे ! स्पष्ट भन्नुपर्दा आफूलाई विष्णुको अवतार भएको घोषणा गर्न लगाए र, ‘झोले’हरुले विष्णुको अवतार भएको घोषणा गरे ।

नेपालका नरेश ज्ञानेन्द्र शाहलाई पुनर्स्थापना गरेर, सम्पूर्ण हिन्दूहरूको मन जित्नुको सट्टा आफूलाई विष्णुको अवतार घोषणा गर्न लगाउन हिच्किचाहट भएन उनलाई !?

एउटा कुरा बिर्सन सकिन्न कि, इन्डियामा रहेका करोडौँ हिन्दूहरू पनि अर्को धर्म-संस्कृतिप्रति उदार भाव राख्ने गर्छन्, तर मोदीले त्यसप्रति पटक-पटक असहिष्णु रवैया अपनाउँदै आएका थिए ।

त्यसको ज्वलन्त उदाहरण हो- छिमेकी देशहरूबाट आएका हिन्दूहरू जो-कोहीलाई नागरिकता दिने तर अन्य धर्म-संस्कृतिका मान्छेहरूलाई कुनै स्थान छैन भनेर कानुनसमेत निर्माण गरे । जुन कुरा रैथाने हिन्दुहरुलाई समेत मन परेको थिएन ।

उनले हिन्दू धर्म–संस्कृतिलाई पूरै ‘राजनीतिक’ बनाउने कोसिस गरे साधारण जनताले बुझ्नेगरी । आरएसएसले त्यही गर्ने कोसिस गर्दै आएको छ । तर, सामान्य नागरिकले त्यो बुझेका थिएनन् । मोदी सरकारमार्फत् धेरै कुरा बुझे उनीहरूले । त्यो मन परेन जनतालाई ।

३. देशभित्र साम्प्रदायिक सद्भाव बढाउनुको बदलामा झन्-झन् साम्प्रदायिक सद्भाव विथोल्ने घटनादेखि क्षेत्रिय सदभावलाई खलबलाएर अरु डरलाग्दो समाजको विकास गर्दै लगे, विगत दश वर्षमा । कस्मिर लद्दाख घटना त्यही थियो ।

४. उत्पादनको क्षेत्रमा रोजगारी श्रृजना गर्नुको सट्टा बिचौलियाको हितका निम्ति काम गरे ।

किसान मजदुर तथा श्रमजीवी वर्गको हितमा काम गर्नुको साटो बिचौलियासँग संगत गरी, गरीखाने वर्गमाथि राज्यद्वारा सञ्चालित लोक कल्याणकारी कार्यक्रमहरू बन्द गरे ।

यसअन्तर्गत किसानहरूको उत्पादनको न्यूनतम मूल्य निर्धारणलाई समेत बन्द गरिदिए । जुन घोर आपत्तिजनक थियो ।

किसानहरूमाथि गोली हान्ने आदेश दिए । किसानहरूको खुलेआम हत्या गरे । उनीहरूमाथि चर्को दमन गरे, जबकि विगतका सरकारहरूले किसानको पक्षमा मूल्य निर्धारण मात्र होइन, धेरै कुराहरूमा अनुदान समेत पाउँथे । ती सबै चीजहरू बन्द गरे । यो सामान्य कुरा थिएन । दशौँ लाख किसानविरुद्धको कदम थियो ।

५. एकतिर आफूलाई विष्णुको अवतार घोषणा गर्न लगाउने अर्कोतिर आफ्नै पार्टीका कार्यकर्तालाई गाईको मासुको व्यापार गर्न अनुदानका साथै राज्यद्वारा अनेक सुविधा उपलब्ध गराउने कार्य गरे । त्यसलाई तीव्र पारे । जसअन्तर्गत भाजपाकै कार्यकर्ताको विश्व स्तरका पाँच ठूला गाईको मासु बेच्ने कम्पनी सञ्चालनमा रहेको बताइन्छ, ठूला दश कम्पनीहरूमध्ये ।

६. अयोध्याको राम मन्दिरको उद्घाटनलाई चुनावका निम्ति प्रयोग गर्न खोज्दा, हिन्दूहरूका ठूला चार शंकराचार्यहरुको ठूलो अपमान गरे । त्यो अपमानविरुद्ध दुई शङ्कराचार्यहरू त सार्वजनिक मिडियामै आउन बाध्य भए । शंकराचार्यहरुप्रति गरेको उपेक्षा इन्डियाका करोडौं हिन्दुहरुलाइ मन परेको थिएन । मन पर्ने कुरा पनि होइन । शंकराचार्यहरु हिन्दू धर्म संस्कृतिका पथप्रदर्शक हुन् तर मोदीहरू राजनीतिका गोटी मात्र हुन् ।

त्यति मात्र कहाँ हो र ?
अयोध्याका जनतासँग जबर्जस्ती दुई लाख रुपैयाँ क्षतिपूर्ति दिएर उनीहरूको जग्गा अधिग्रहण गरे । तर उक्त जग्गा अन्य प्रदेशका आफ्ना कार्यकर्ताको लागि, अयोध्यामा होटल रेष्टुराँ तथा ठूला ब्यवसायिक सुपर मार्केटको लागि उपलब्ध गराए । त्यो जग्गा त्यहीँका मानिसलाई पुनः उपलब्ध गराउनुपर्ने थियो ।

७. नेपाल र भारतका हिन्दुहरूलाई मनमनै के लाग्छ भने,

‘हाम्रो हिन्दू धर्म-संस्कृतिका विरुद्ध मुस्लिमहरु लागेका छैनन्, लाग्दैनन् । हामी मिलेर बस्न सकिन्छ, मिल्नु पर्छ । सयौँ वर्षदेखि सँगसँगै बसेको हो, अब पनि मिलेर बस्नुपर्ने हुन्छ’ भन्ने मान्यता राख्दछन् । तर, मोदीले बारम्बार मुस्लिमलाई शत्रु घोषणा गरे । उनीहरूका विरुद्ध लाग्न पटक-पटक घुमाउरो पाराले हिन्दुहरूलाई उक्साउने कोसिस गरे ।

इण्डियाभित्र, राज्य संयन्त्रसमेत प्रयोग गरी साम दाम दण्ड भेदमार्फत गोदी मिडियाको एकछत्र हुंकार चलाउँदै, हिन्दू–मुस्लिम वा हिन्दू–इसाईबीच हिंसा गराउने चेष्टा गरे ।

उक्त तिगडमबाजी इन्डियाका रैथाने हिन्दू र मुस्लिम दुवैलाई ठीक लागेन । लाग्ने कुरा पनि भएन । ठीक लाग्नु पनि हुँदैन । सचेत सभ्य हिन्दू र मुस्लिम दुवैले भाजपालाई तिरस्कार गरे ।

८. मोदीले आफूलाई विष्णुको अवतारमात्र होइन, विज्ञानको पनि पिता देखाउने प्रयत्न गरिरहे । जबकि त्यो कुरा मननपराउने इन्डियाका करोडौँ विज्ञानका विद्यार्थीदेखि लिएर उच्च स्तरका वैज्ञानिकहरू उनको त्यो पाखण्डीपनदेखि चिढिएका थिए ।

सयौँ हजारौँ वैज्ञानिकहरुको दशकौँदेखिको लामो मिहिनेतलाई तपसिलमा राखेर,
आफूलाई रकेटको पिता !
सेटेलाइट पिता !
मिसायलको पिता !
फाइटर जहाजको पिता !
देखाउने जुन घोर आश्चर्यलाग्दो प्रयत्न गरे, त्यसलाई एकसाथ विज्ञानको क्षेत्रमा जोडिएका बहुसंख्यकले अस्वीकार गरेको हुनुपर्छ ।

९. विश्व समुदायलाई समेत जानकारी हुने गरी मुस्लिमका विरुद्द, मोदी सरकारले इजरायललाई हतियार सहयोग गरिरहेको रहस्य चुनावको मुखमा नै खुल्न आयो ।

के यो जान्दाजान्दै इंडियाभित्र रहेका सचेत मुस्लिमले भाजपालाई भोट हाले होलान् त ?

१०. मोदी सरकारको कुनै पनि छिमेकी देशहरूसँग राम्रो सम्बन्ध रहेन । एउटा बंगलादेशसँग सीमा समझौता भएको छ, तर बंगलादेशले इन्डियन सेनाको प्रतिकार वा इन्डियन सेनामाथि सिधै गोली ठोकेपछि, इन्डियाले भिजेको बिरालो बनेर सम्झौता गरेको थियो । यसमा बंगलादेशको नैतिक, कुटनैतिक र सामरिक सबै विजय भएको थियो ।

नेपालसँग कस्तो सम्बन्ध छ, जगजाहेर छ । नेपालको लागि इंडिया मित्रराष्ट्र हो तर इन्डियन सरकारको लागि नेपाल र नेपाली जनता शत्रुहरू हुन् । यही व्यवहार देखिने गरेको छ ।

तर इंडियन जनता नेपालका विरुद्द छैनन्, हुनुपर्ने कारण पनि त छैन ।

माल्दिसबाट बेइज्जतीपूर्ण रूपमा निकालिएको छ, इंडियन रेस्क्यु टीमलाई मोदीकै पालामा ।

११. युरोपियनहरुसँग पनि राम्रो सम्बन्ध रहेन मोदीकालमा ।

यद्यपि आफ्नो पहिलो कार्यकालमा नेपालका विरुद्द युरोपियन अमूक राष्ट्रसँग मिलेर संयुक्त वक्तव्य निकालेका थिए मोदीले । तर आज तिनै युरोपियन देशहरू भाजपाविरुद्द खडा भएका छन् । यसो हुनुमा थुप्रै कारणहरू छन्, जो यहाँ उल्लेख गरिसाध्य छैन ।

१२. वैदेशिक नीतिमा भाजपा सरकार सधैंभरी दोगला चरित्रको देखिँदै आयो ।

न त रसियन खेमामा छ ।
न त अमेरिकन खेमामा छ ।
न त स्वतन्त्र वैदेशिक नीति छ ।

अर्थात्, यो पेन्डुलम वैदेशिक नीतिमा झुलिरहेको छ, त्यसैको परिणामस्वरूप यसले सार्कलाई पनि थिचेर आफू हिरो बन्न खोज्दा वैदेशिक नीतिमा हिँजडा जस्तै बनेको छ ।

त्यही क्रममा भाजपालाई
न त रामले भोट दिलाए,
न त अल्लाहले भोट दिलाए,
यशूले फर्केर पनि हेरेनन् !
अझ यहुदीले त फुटेका आँखाले पनि कहिल्यै हेर्ने छैनन् !!

परिणामस्वरूप ‘विश्वगुरु’को डङ्का पिटाएजस्तो विजय प्राप्त भएन । विजय हुने कुरा पनि थिएन । मोदीको पाखण्डीपन चुर–चुर भएर भुइँमा पछारिएको छ अहिले ।

चारसय सीट नाघ्ने स्वघोषणा गरेको भाजपालाई त्यहाँका बहुसंख्यक नागरिकले अस्वीकार गरेका छन् ।

अस्तु ।