गण्डकी प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सांसद देवकोटालाई माओवादीले कारबाही गर्ने

गण्डकी प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सांसद देवकोटालाई माओवादीले कारबाही गर्ने


फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही गर्ने भएको छ ।

संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले देवकोटालाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिएका छन् । प्रकृया पूरा भएपछि सभामुखलाई कारबाहीको सूचना दिइने उनको भनाइ छ । संसदीय दलको निर्णय विपरीतको क्रियाकलाप गरेपछि देवकोटालाई कारबाही गर्नुपर्ने अवस्था आएको प्रष्टोक्ति चुमानले दिएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मा आवद्ध देवकाटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा-२ (क) बाट निर्वाचित भएका थिए । राजनीतिक दल फरक रहेपनि प्रदेशसभामा उनी माओवादी केन्द्रको संसदीय दलको सदस्यका रुपमा रहेका पात्र हुन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनसक्ने तर जुन दलले बढी सिट प्राप्त गर्छ त्यही दलका नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ ।

यसरी माओवादीले कारवाहीको तयारी गरेपनि नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्णा शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत संविधानसम्मत् भएको दाबी गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्- ‘निर्वाचनपश्चात निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसदका रुपमा प्रमाणपत्र र परिचयपत्र दिएको हो । निर्वाचन आयोगमो अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ । तसर्थ गण्डकी प्रदेशसभामा पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको हो ।’