आई.एम.ई. लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न

आई.एम.ई. लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न


आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा सोमबार (२८ जेठ) काठमाडौंमा सम्पन्न भएको छ ।

सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० को ‘एनएफआरएस’बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसहमतिबाट पारित गरेको कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भएवापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्तावसमेत पारित गरेको छ ।

सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पदमा रविन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

बोनस शेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पूँजी रु ५,००,००,००,०००/- (अक्षरेपी पाँच अर्ब मात्र) कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोहीबमोजिम संशोधन गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने बताए ।