‘नख्खु जेल, किसुनजीका सहयोगीदेखि कराँतेमा पाँच डिग्रीसम्म’

‘नख्खु जेल, किसुनजीका सहयोगीदेखि कराँतेमा पाँच डिग्रीसम्म’


  • सुरेन्द्र सुवेदी, काठमाडौं

२०४२ सालको कुरा । नेपाली कांग्रेसले सत्याग्रह गऱ्यो । युवा वयमै त्यो सत्याग्रहमा सहभागी भएका बद्रीनाथ श्रेष्ठलाई पञ्चायती व्यवस्था पक्षले पक्राउ गरेर महेन्द्र पुलिस क्लब भृकुटीमण्डप, महिला प्रशिक्षण केन्द्र जावलाखेल हुँदै नख्खु जेल लगेर थुन्यो । त्यहाँ श्रेष्ठसँग प्रजातन्त्र बहालीपछिका गृहमन्त्री योगप्रसाद उपाध्याय, केपी ओली, मनमोहन अधिकारी, झलनाथ खनाल, सिपी मैनाली, तुल्सीलाल अमात्य, नारायणमान बिजुक्छे, डा. गंगालाल तुलाधर र जगन्नाथ आचार्यसमेतका नेता नख्खुमै थुनिएका थिए । श्रेष्ठ ७ महिनापछि जेलबाट मुक्त भए ।

२०२३ मा काठमाडौंको सतुङ्गलमा जन्मिएका बद्रीले राजनीतिसँगै कराँते पनि खेलिरहेका थिए । २०४७ मा कराँतेको ब्ल्याकबेल्ट लिन सफल उनी राजनीतिलाई पनि स्वयंसेवाको रुपमा लिएर अघिबढिरहेका थिए । कांग्रेसको राजनीतिमा रहेर २०५१ मा सतुङ्गल गाविसको इकाईको सचिव भए ।

२०४९ देखि पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) को निजी सुरक्षामा खटिए । र, ०५६ सम्म किसुनजीकै साथमा रहेर सहयोग गरे । २०५३ मा हेटौँडा सिमेन्ट र २०५७ मा उदयपुर सिमेन्टको बोर्ड डाइरेक्टर पनि भएर काम गरे । कराँतेलाई निरन्तरता दिँदै उनले २०४४ मा जीवनयात्रा र २०५१ मा सलाम चलचित्र पनि बनाए । २०४९ मा साथीसित मिलेर ‘अन्तिम न्याय’ र ‘सुरुचि’ टेलिसिरियल निर्माण पनि गरे । योसँगै उनले केही गीत पनि लेखेका छन् । ती गीत म्युजिक नेपालमा रेकर्ड भएका थिए ।

हाल कराँतेका ५ डिग्री (डान) भइसकेका उनले देशका विभिन्न भागमा पुगेर कराँते पनि सिकाए । २०४४ देखि एक वर्ष दोलखा, त्यसपछि लमजुङ र सुर्खेत गएर उतै बस्दै कराँतेको कोच भएर काम गरे । अहिले उनले सिकाएका खेलाडीको संख्या करिव ९ हजार पुगेको उनी स्मरण गर्छन् ।

कराँते खेल्न र सिकाउन आफू विश्वका १९ देश पुगिसकेको उनले बताए । बद्रीनाथ श्रेष्ठले भने, ‘भारत, डेनमार्क, भूटान, बंगलादेश, पाकिस्तान, जापान, सिंगापुर, ब्रुनाइ, पोर्चुगलसम्म पुगेर खेल्ने र खेलाउने काम पनि गरेको छु ।’

अहिलेसम्म कांग्रेस पार्टीमै रहेका उनी पद खोज्दै नहिँडेको र पदको लोभमा पनि नपरेको भन्दै भनसुन गर्न नजानेको बताउँछन् ।

जनआन्दोलन २०६२/०६३ मा खटिएको समयमा उनकी श्रीमती कमलालाई कलंकी चोकमा गोली लाग्यो । श्रीमतीको उपचार गर्न २८ लाख रुपैयाँ खर्चेको स्मरण गर्ने उनलाई सरकारले १ लाख रुपैयाँ दिने भनेको थियो । तर, उनले त्यो रकम लिएनन् । ठूलो रकम खर्च भएको तर, एक लाखमात्र पाउने भएपछि त्यो रकम नलिएको उनले घटना र विचारलाई सुनाए ।

अबको समय सामाजिक काममा खर्चने र आफ्नो क्षेत्रमा नै सक्रिय रहने उनको योजना छ । अहिले उनी कांग्रेस पार्टीको बुथ सदस्य रहेका छन् ।