नेपालका पहिलो नृत्यनिर्देशक भैरवबहादुर थापालाई नुर गङ्गा राष्ट्रिय सम्मान

नेपालका पहिलो नृत्यनिर्देशक भैरवबहादुर थापालाई नुर गङ्गा राष्ट्रिय सम्मान


विसं २०७९ को नुर गङ्गा राष्ट्रिय सम्मानबाट नेपालका पहिलो नृत्यनिर्देशक भैरवबहादुर थापा सम्मानित भएका छन् ।

नुर गङ्गा प्रतिभा पुरस्कार गुठीले शुक्रबार काठमाडौंमा आयोजना गरेको सम्मान एवं पुरस्कार समर्पण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले थापालाई सम्मान गरेका हुन् । लोक सेवा आयोगबाट पहिलो नृत्य निर्देशक नियुक्त भई थापाले नेपालको नृत्य प्रशिक्षण र अनुसन्धानमा पुऱ्याएको योगदानका लागि उनलाई सम्मान गरिएको गुठीले जनाएको छ ।

यसैगरी गुठीको सदस्य भएर योगदान गरेका प्राडा प्रेमकुमार खत्री, इन्जिनियर रमेशजङ्ग रायमाझी र प्राडा भवेश्वर पँगेनीलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई सम्मान पत्र, दोसल्ला र फूलमालाले सम्मान गरिएको हो ।

तीन दशकदेखि लोकगायनमा संलग्न रही लोक संस्कृतिको संरक्षणमा योगदान गरेवापत् लोकगायक राजु परियारलाई रु. एक लाख राशिसहितको नूर गङ्गा राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । साहित्य क्षेत्रमा योगदान गरेवापत् रामबहादुर पहाडीलाई रु ३० हजार राशिसहितको नुर गङ्गा क्षेत्रीय पुरस्कार प्रदान गरियो । ‘मेरो दृष्टिमा २१ बालकथा’ कृतिका लागि स्वेना दाहाललाई नुर गङ्गा राष्ट्रिय नव प्रतिभा बाल साहित्य पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसैगरी लोकगायनमा संलग्न कुशल बेल्वासेलाई रु २० हजार राशिसहितको नुर गङ्गा क्षेत्रीय नव प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । सम्मानित र पुरस्कृत सबैलाई मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले सम्मानपत्र र पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता सम्मानले स्रष्टालाई सृजनामा थप हौसला बढ्ने बताए । यही प्रेरणाले स्रष्टाले अझ गहकिला सृजना गर्न सक्ने भएकाले यस्ता प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

photo: rss