राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको सो पार्टीका नेता सुरेश आचार्यले जानकारी दिए ।

समान विचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।

महङ्गी भ्रष्टाचारविरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ । पार्टी सङ्गठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ ।

मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिएको बैठकमा पार्टीको भावी कार्ययोजना तथा रणनीतिबारे समीक्षा गरिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्षमा रहने, संयोजित सङ्गठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सह–महामन्त्री धनबहादुर बुढा तथा युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई तोकिएको छ ।