‘पशुपति प्रसाद २ : भष्मे डन’: विश्वभरबाट हेर्न सकिने गरी सिनेमाघर एपमा रिलिज

‘पशुपति प्रसाद २ : भष्मे डन’: विश्वभरबाट हेर्न सकिने गरी सिनेमाघर एपमा रिलिज


व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ ओटिटिमा रिलिज भएको छ। यो चलचित्र शनिबार (१ असार) ‘सिनेमाघर एप’मा रिलिज भएको हो ।

दीपेन्द्र के. खनालको निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिएका छन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभइ अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल रहेकोले ओटिटिमा यस चलचित्रलाई मन पराउने विश्वास राखे । हलमा यो चलचित्र गत दसैँको फूलपातीमा रिलिज भएको थियो। यसको सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो ।

सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’सँगै हिट चलचित्रहरू ‘जय भोले’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’, ‘चपली हाइट ३’ लगायतका चलचित्रहरू पनि उपलब्ध छन् । सिनेमाघर एप एन्ड्रोइड र आइओस मोबाइलका साथै सामसुङ, एलजि, गुगल, अमेजन लगायतका टेलिभिजनहरूमा पनि डाउनलोड गर्न सकिन्छ । एपमा उपलब्ध चलचित्रहरू नेपाल र भारतका प्रमुख डिजिटल वालेटका साथै अन्य देशहरूमा पेपल, गुगल पे, एप्पल पे तथा डेबिट/क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ।

‘पशुपति प्रसाद २ : भष्मे डन’ हेर्न रु. १९९ रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।