वीरमा भ्रष्टाचारका उजुरी नै उजुरी : जनरल र मेडिकल स्टोरमा व्यापक अनियमितता

वीरमा भ्रष्टाचारका उजुरी नै उजुरी : जनरल र मेडिकल स्टोरमा व्यापक अनियमितता


चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा भ्रष्टाचारका घटना दिनदिनै सार्वजनिक भइरहेका छन् । पछिल्लो समय अस्पतालको जनरल र मेडिकल स्टोरमा भ्रष्टाचार भएको भन्दै सरोकारवाला निकायहरूमा उजुरी परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेका हुन् ।

उजुरीमा वीर अस्पतालमा मेडिकल स्टोर, जनरल स्टोर, खरिद एकाई, अस्पताल फार्मेसीलगायतमा व्यापक अनियमितता भएको छ । टेन्डरबाट सामान नलिने कोटेसनमा पटक-पटक गरेर करोडौँ रुपैयाँका सामान खरिद गर्ने गरेको, विपन्न नागरिक शाखा र सोको फार्मेसीमा अनियमितता भइरहेको उल्लेख छ ।

अस्पतालमा ५० हजार रुपैयाँभन्दा बढीको सामान कोटेशनमा खरिद गर्नु परेमा अनलाइनमार्फत लिने प्रतिष्ठान कार्यकारीको निर्णय हुँदा पनि अनलाइन कोटेसन नगरेर कमिसनलाई महँगोमा आफूनिकट व्यापारीसँग सोझै खरिद गरिँदै आएको उजुरीमा भनिएको छ ।

यस्तै, जनरल स्टोर प्रमुख बैकुण्ठ लुइँटेल, मेडिकल स्टोरका अहेव टिकाराम पनेरु, युवराज सुवेदी, नवराज धिताल, खरिद एकाइमा अग्निधर बस्यालले निर्देशक डा. सन्तोष पौडेलसँग मिलेर टेन्डरमा पहिलै कमिटी बनाउँदा मेडिकल माफियाको योजनामा उनीहरूलाई नै टेन्डर पर्ने गरी स्पेसिफकेशन बनाएर टेन्डर आह्वान गरिएको दाबी गरिएको छ ।

यी सरोकारवाला निकायमा वीर अस्पताल कर्मचारी परिवारले आइतबार नै उजुरी दर्ता गरेका छन् ।