राजनीतिको ‘पपुलिज्जम’ र सहकारी ठगी !

राजनीतिको ‘पपुलिज्जम’ र सहकारी ठगी !


लोकप्रियतावाद (पपुलिज्जम) घातक र क्षणिक हुन्छ । राजनीतिमा देखिएको पपुलिज्जमले हानी नोक्सानी बाहेक केही गरेन । सांगठानिक आधारबिना नै मतदाताले किन र कसरी घन्टीमा यसरी मत जाहेर गरे ? के यो नेपाली राजनीतिमा देखिएको सामाजिक विद्रोह थियो ? जे होस्, उनको चटक त्यतिबेला बिक्यो । विगतमा पनि उनी गृहमन्त्री भएपछिका सबैजसो गतिविधि र क्रियाचाहिँ एउटा चटकेले देखाउने चटक जस्ता मात्र रहे । अहिले पनि त्यस्तै छ । कामसाम तातोभुत्लो केही गरेको होइन । सहकारीपीडित सडकमा रोएर बसे, तर आश्वासनबाहेक केही पाएनन् !

नेपाली नागरिकता त्यागेर अमेरिका भासिएका रविले ढाँटेर आफ्नो पुरानो नागरिकताको गैरकानुनी प्रयोग गरी ‘दुरुपयोग’ गरे । पासपोर्टको दुरुपयोग गरे । चितवनमा आत्महत्या दूरुत्साहन गरे । बहुविवाह गरे । तथापि, अनेकौँ चटक गरेर पानीमाथिको ओभानो हुँदै छन् । एउटा चटके प्रवृत्ति, चटके चालाढाला, व्यवहार, शैली, सोच, चिन्तन र तरिका धेरै टिक्दैन भन्नेचाहिँ प्रष्ट देखियो । कानुनले ‘स्ट्रीक’ रुपमा लिने नागरिकता जस्तो संवेदनशील विषयमा खेलाँची गर्लाको परिणाम त्यतिबेला निस्कियो । मान्छे वा व्यक्ति पद वा हैसियतमा जतिसुकै ठूला वा चर्चामा भए पनि कानुनभन्दा माथि कोही पनि हुँदैन र छैन भन्ने कुरा सर्वाेच्चका विभिन्न फैसलाले फेरि प्रमाणित गरेको छ ।

राजनीति भनेको नीतिको पनि नीति हो । तर, रवि जस्ता पात्रले राजनीतिलाई ठगीखाने भाँडो बनाए । राजनीतिका माध्यमबाट राज्य सञ्चालन हुने हो । राजनीति एउटा दर्शन र मान्यता हो । यही दर्शन र मान्यतालाई वैचारिक, सांगठनिक, दार्शनिकतामा ढाल्दै विचार, कार्यक्रम, संगठन र दृष्टिकोणको माध्यमबाट गरिने संगठित तथा सचेत अभियान र आन्दोलन हो । तर रविले यो पक्षलाई पूरै अनदेखा गर्दै आफूलाई ‘स्वतन्त्र’ देखाउन र भन्न खोजे ।

राजनीतिमा विचारको, संगठनको, दृष्टिकोणको तथा कार्यक्रमको दलीय पक्षधरता हुन्छ, हुनुपर्दछ । तर, लामिछाने यही आधारभूत मान्यता र मूल्यमा नै चुकेका छन् । केवल चटक देखाएको भरमा उनी सत्तामा पुगेका छन् । उनलाई राजनीति गर्न, देशको उन्नति, प्रगति र समृद्धिमा सहयोगी बन्नको लागि दल र पार्टी खोल्न कसैले रोक्ने थिएन, रोक्दैन । दलको नाम नै स्वतन्त्र राखे । त्यो भन्दा सस्तो तरिका केही होइन । ‘कमन नेम’लाई ‘प्रपरनेम’मा प्रयोग गरियो । लुकेर, लुकाएर, ढाँटेर दल बनाउनु पर्ने अवस्था दलीय प्रजातन्त्रमा छैन, हुँदैन । नेपाली नागरिकलाई कानुनी विधि पूरा गरेपछि सबै गर्ने अधिकार हुन्छ । त्यसरी आफूलाई ढाँटेर, लुकाएर ‘स्वतन्त्र पार्टी’ खोल्नुपर्ने आवश्यकता किन पऱ्यो ? स्वतन्त्रको जामा लगाएर आफूलाई ढाँट्नुपर्ने थिएन, तर उनले ढाँटे/ढाँट्दैछन् । दलीय प्रजातन्त्रमा कसैले पनि आफूलाई पूर्ण स्वतन्त्र हुँ भन्छ भने कि राजनीतिक चेतना र विचारशूल्य मान्छे हो, होइन भने ऊ ढँटुवा र मतलबी हो । अर्थात् चटके हो ।

राजनीतिशास्त्रले कुनै खास अवस्था र समयमा पूरै मौन रहनु पनि कुनै विचार, दल र पक्षको समर्थन वा विरोध गर्नु हो भन्ने मान्यता राख्ने भएकोले दल खोलेर चुनावमा भाग लिनेले ‘स्वतन्त्र’ भन्नु आवश्यक छँदैथिएन । प्रष्टै फलानो दल भन्दा हुन्थ्यो । यसो नगर्नु रवि लामिछानेको पहिलो विचारधारात्मक कमजोरी, चटक र चुनौती एवम् दुःख भयो, हो । यसैले उनी जताततैबाट घेरिएका हुन् । सहकारी ठगीमा संलग्न हुने तर आफूलाई थाहा भएन भन्ने बच्चापाराले उनको भ्रम धुलो भयो । अन्ततः उनी सकिन्छन् नै ।

राजनीतिक संगठन र पार्टी अघि बढ्ने, टिक्ने र जनतामा बिक्ने मूल आधार भनेको वैचारिकता हो । विचारधारा, दर्शन, दृष्टिकोण, संगठन, राजनीतिक मूल्य र दर्शनको सहारा नलिई कुनै पनि पार्टी अगाडि बढाउन खोज्नु भनेको अराजक, आक्रोशित र उद्दण्ड भीड जम्मा गर्नु मात्र हुन्छ । जो कुनै पनि दिन वा समयमा आफैँ छिन्नभन्न हुन्छ, हुन्छ । लामिछानेको लागि यो चुनौती हो । रविले पार्टी-राजनीतिमा जान चाहेको हो भने लोकतान्त्रिक, संवैधानिक, संघीय गणतन्त्र, प्रजातन्त्र, विधिको शासनका आधारभूत मूल्यलाई स्विकार गर्न सक्नु पर्दछ । सो मूल्यबाट आफू दायाँबायाँ हुन्न भन्न सक्नु पर्दछ । तत्कालीन उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमले माइतीघरमा संविधान जलाएर त्यै नारा र नाममा पार्टी बनाएर संसदमा ५२ सिट जितेको जस्तो तरिका अब टिक्दैन । ‘राजा राजा’ भन्दै अर्काे जोगी लिङ्देनले चटक देखाए । यस्ता चटक समयक्रममा आफै समाप्त हुन्छ, हुन्छ ।

राजनीतिक शक्ति मूलतः राजनीतिक संघर्ष, क्रान्ति, सामाजिक-राजनीतिक परिवर्तनमा सचेतनतापूर्वक सहभागी भई जनताको नेतृत्व लिएको हुनु आवश्यक हुन्छ । राजनीतिक संघर्ष र क्रान्तिले नै राजनीतिक दललाई जनताको साथी बनाउने हो । क्रान्ति र संघर्षसँग कुनै सम्बन्ध र राइनो नभएको संगठन र नेता अस्थायी हो । चटक र भ्रम मात्र हो । गृहमन्त्री रविको दल केलल चटक र भ्रमबाहेक केही होइन । उनको चटक धेरै बिक्ने र टिक्ने छैन ।

लोकतन्त्रका खम्बा दल

लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक पार्टी लोकतन्त्रका खम्बा हुन् । संघर्षको इतिहास भएका दल घरका पिलर जस्ता हुन् । त्यस्तो पिलर आफैं संगठित हुन अत्यावश्यक हुन्छ । चुनावमा भोट बढी आउनु र आधारभूत जनताको तहमा संगठन हुनु वा नहुनुमा ठूलो अन्तर हुन्छ । संगठनको आधार नभएको राजनीतिक दल र शक्तिले ल्याएको कुनै पनि कार्यक्रम सफल हुन कठीन हुन्छ । संगठन नभइ जनताले दलको अपनत्व लिने कुरा पनि हुन्न । यसैले लामिछानेको अर्काे प्रमुख चुनौती भनेको बिना संगठानिक आधार निर्वाचन जित्नु हो । भ्रम, फन्डा र भीडको आधारमा जितेको चुनाव अर्को निर्वाचनसम्म रहन सक्दैन । जनतासँग प्रत्यक्ष सम्बन्ध र अन्तरक्रिया गर्ने भनेको जनताको संघर्षको जगमा स्थापित भएका राजनीतिक संगठनको माध्यमबाटै हो ।

सहकारी ठगीमा रवि

सहकारी ठगीमा प्रत्यक्ष जोडिएका रविको दलचाहिँ फिल्म र टेलिभिजनको चटक नाटक जस्तो मात्र हो । हालैका दिनमा कार्यकारी पदमा पुग्दा पनि लामिछानेले उही चटक तथा चटकेशैली समात्दा नागरिकमा निराशा पैदा हुन थालेको छ । सहकारी ठगीमा उनी हिलोमा फसेको भैंसी जस्तोगरी फसेका छन् । नागरिकलाई चटकसटक होइन, काम र परिणाम नै चाहिएको हो । देखिनेगरी हुने परिवर्तन चाहिएको हो । गएको सत्तामा उनी गृहमन्त्री बन्दा पनि अर्काको मन्त्रालयको कार्यक्षेत्रमा प्रवेश गरी पासपोर्टको दुःख हटाउने भन्दै पासपोर्ट विभागमा गएर रविले चटक गरे । त्यो चटकको कारण त्यसबेला नागरिकले थप दुःख पाए । खासमा अहिले पनि एउटा सवारी लाइसेन्स लिन महिनौँ धाउनुपर्ने अवस्था छ । अनेकौँ समस्याबाट राज्य जकडिएको बेला सस्तो प्रचारबाजी र चटकले नागरिकको दुखेको पीडामा नुनचुक छर्कने काम मात्र हुन्छ भन्ने कुरा रविले बुझ्नै सकेनन् ।

चटकैचटकका बीच उनको सहकारीसम्बन्धी ठगीको मुद्दा वा विषयले उनी समेतलाई दोषी देखाएपछि उनले फेरि कस्तो–कस्तो नाटक र स्टन्टबाजी गर्ने हुन्- त्यो अझ प्रष्ट हुँदैजाला । सारमा स्टन्ट, भ्रम र चटकको आयु धेरै हुँदैन भन्ने चाहिँ नेपाली राजनीतिमा देखिएका विभिन्न घटना, पात्र र प्रवृत्ति समेतबाट थप प्रष्ट हुँदै आएको छ ।