प्रहरी महानिरीक्षक परिवर्तनको चर्चा : ‘हल्ला मात्रै’ !

प्रहरी महानिरीक्षक परिवर्तनको चर्चा : ‘हल्ला मात्रै’ !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरलाई हटाएर अर्कै व्यक्तिलाई आइजीपी बनाउने चर्चाले पछिल्लो समय सुरक्षा क्षेत्र नै तताएको छ ।

उपप्रधान तथा गृहमन्त्री रविशरण लामिछाने आइजीपीसँग रुष्ट रहेको स्रोतहरुको दाबी छ । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई नपक्रन आइजीपी कुँवरले सुझाव दिएका थिए, आइजीपी कुँवरको रायबाहिर गएर गृहमन्त्री लामिछानेले सिरोहियालाई पक्राउ गरेपछि उनीहरुबीचको सम्बन्धमा दरार पैदा भएको जानकारहरुको भनाइ छ ।

गृहमन्त्री लामिछाने कुँवरलाई हटाएर अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एआइजी श्याम ज्ञावालीलाई आइजीपी बनाउने योजनामा रहेका तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा हात नहाल्न भनेपछि उनी पछि हटेको एक जानकारको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय नेताले एक महिनाअघि आइजीपी हटाउने विषयमा चर्चा भएको तर त्यो अहिले बन्द भएको बताए । ती नेताले घटना र विचारसित भने, ‘आइजीपी कुँवरलाई हटाउने कुरा आएको हो, तर त्यो अहिले बन्द भइसक्यो, तत्काल आइजीपी हटेर नयाँ आउने सम्भावना छैन ।’

प्रधानमन्त्री प्रचण्डले आज (३ असार) भरतपुर विमानस्थलमा तत्काल आइजीपी परिवर्तन नहुने सञ्चारकर्मीहरुसँग बताएका छन् । ‘मैले अस्तिको दिनमात्रै तीनैजना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु, उहाँहरूले काम गर्नुभएको छ, यो हल्ला मात्रै हो’, प्रचण्डले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि भने लामिछानेलाई आइजीपी हटाउन ग्रिन सिग्नल दिएको चर्चाले सुरक्षा निकाय तताएको थियो ।

photo: rss