‘धरातल’

‘धरातल’


एउटै आमाको कोखबाट जन्म लिएका दिदी-बहिनी चम्पा र चमेली । चम्पा पहिलो सन्तान । आठ जना भाइ-बहिनीपछिकी । प्रथम सन्तानलाई अरू भन्दा कठिन परिस्थिति आइपर्छ हाम्रो समाजमा ।

साधारण परिवार । भाइ-बहिनी वर्षेनीका, चम्पाले पढ्ने सुअवसर पाइनन् । आमा-बाबाले अठार वर्षकै उमेरमा उनिभन्दा दोब्बर उमेरका विधुरसित बिहे गरेर अर्काको घर पोत्न पठाइदिए ।

समय परिवर्तन हुँदै गयो, चमेलीले साउँ अक्षरसम्म चिन्न पाइन् । भाग्य ठूलो, राम्रो घराना भेटाइन् ।

नानीहरू वर्षेनीका छन् चम्पाका । जवानीको रस राम्रो अनुभव हुन नपाउँदै पतिले साथ छोडे । हिम्मत हारिनन् । छोराछोरीका निम्ति सतमा बसेर पढाइन्, संसार चिनाइन्, संस्कारी बनाइन् ।

चमेलीका पति सरकारी जागिरे, नानीहरूले राम्रो स्कूल र कलेज त पढ्ने मौका पाए तर संस्कार बुझेनन् । सबै जागीरे भए । नानीहरूको नोकरी भएपछि भुईंमा खुट्टा रहेनन् चमेलिका । यता दिदी चम्पाका छोरा-छोरीले चाहेर पनि इच्छानुसार पढ्न सकेनन् । कृषि, खेती-किसानी नै आफ्नो पेसा बनाए । बस्तीको घर-संसार राम्रो चलेको थियो ।

समयले आफ्नो रफ्तार लियो । चमेलीका छोराले नयाँ गाडी किनेपछि निकै कोसेली बोकेर दिदी भेट्न गइन् । कहिल्यै नआउने बहिनी अचानक विधवा दिदीका घरमा आउँदा खुशी हुँदै मीठो-मसिनो खाना बनाइन् । कल्पना गरिन्- ‘लामो अन्तरालपछि दिदी-बहिनीको भेटघाट, कति वर्षदेखि गुम्सिएका आफ्ना उतारचढाव, दुःख(सुखका कुराहरू रातभर बहिनीसित साझा गर्नेछु, अँगालोमा सुताएर पोख्नेछु ।’

साँझ राम्रोसित पृथ्वीमा झरेको पनि थिएन चमेलीले हिँड्ने तरखर गरेको देखेर चम्पाले गहभरि आँसु पारेर भनिन्- ‘आज बस्न कान्छी ! बल्ल बल्ल आएकी, एक रात त बस् न ! फेरि तेरो घरमा पनि त परिपञ्च छ, बित्दो केही छैन ।’

चमेलीले निधार र गालाबाट झर्दै गरेका पसिना पुच्दै भनिन्- ‘होइन दिदी साह्रै गरम भयो, पङ्खा पनि छैन, एसीमा बस्ने बानी, टोयलेट पनि पर बोराले बारेको रहेछ, यस्तोमा त मलाई टोइलेट नै लाग्दैन । उठ्नेबित्तिकै तातो पानीले नुहाउने बानी छ, बिहानै कसले दाउरा बालेर डेक्चीमा पानी तताइदिने ? दयानिधिले भरखर किनेको नयाँ गाडी, ड्राइभर लिएर आएकी छु, पुगिहाल्छु नि !’

चम्पाको बोली फुटेन, जे नै भए पनि दिदी सम्झेर आएकी बहिनी, रातो अक्षताको टीका लगाइदिएपछि चम्पाले कल्पना गरिन्- ‘जति नै उचाइमा उडान उडे पनि आएर बस्ने ठाउँ त जमीन नै हो, मिल्ने ठाउँ यही पवित्र माटो नै हो । कुन धरातलबाट आएर आज ऊ अनि म यहाँ छौं, भगवान साक्षी छन् ।’

हेर्दाहेर्दै चमेलीको नयाँ गाडीले तल्लो घुम्ति पनि काटेर अदृश्य भइसकेको थियो, विद्याले टुकी बत्ती बालेर मझेरी र सिकुवाको खोपामा राख्दा चम्पा झसङ्ग भइन् ।