मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण


खोटाङको दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित भालुखोला र मझुवागढी-६ नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो ।

विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रु सात करोड ७४ लाख २५ हजारमा ती पुल बनेका थिए । हालै सम्पन्न भएको दुवै पक्की पुल २०-२० मिटर लम्बाइको छ ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको ‘एप्रोच रोड’को कामसमेत सम्पन्न भएको बताइएको छ । तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताउनुभयो ।

सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाइको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो ।

विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्नेगरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार एक सय ३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिनुभयो । छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलोपटक थपिएको समयसीमा असार २५ गते सम्पन्न हुँदैछ ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माणाधीन मोटरेबल पक्की पुल छिटो सक्न तथा गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई पटक-पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । ‘निर्माणाधीन तीनवटा पुलमध्ये दुईवटाले समयअगावै सम्पन्न गरेको छ । तोकिएको मितिअगावै पुल निर्माण सम्पन्न गर्न हामीले पनि हौसला प्रदान गऱ्यौँ’, उहाँले भन्नुभयो, ‘वर्षा सुरु भएपछि त्यो काम सम्भव थिएन । तोकिएको समयभन्दा अगाडि नै पुल सम्पन्न गरेकाले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने योजना बनाएका छौँ ।’

छिमेकी जिल्ला भोजपुर जोड्ने दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ-लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत वर्ष जेठ १२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलका लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको जनाउँदै जिल्लावासीले असन्तुष्टि पोख्न थालेका छन् ।

पाँचखण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार सञ्चालनमा आइसकेको छ । तीनवटा निर्माण भर्खरै सम्पन्न भएको तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछ ।

विसं २०७२ चैतबाट कालोपत्र थालिएको दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाको सेखुवा-चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्र भएको छैन । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्र नहुँदा स्थानीय बासिन्दा चिन्तित छन् ।

भोजपुर हुँदै पाँचथरको चिवाभञ्ज्याङ जोडिने दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा-चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक ठेकेदार कम्पनीले कालोपत्र नगरेपछि ठेक्का तोडिएको थियो । तर, ठेकेदार कम्पनीले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट ‘स्टेअर्डर’ ल्याए पनि निर्माणको काम अगाडि नबढाएको बताइएको छ ।

तस्बिर : रासस