नेपालका अधिकांश विमानस्थल बन्द : सीमितमा मात्र सञ्चालन

नेपालका अधिकांश विमानस्थल बन्द : सीमितमा मात्र सञ्चालन


  • सुरेन्द्र सुवेदी, काठमाडौं

इलामको सुकिलुम्बामा विमानस्थलको आवश्यकता नै नरहेको जानकारहरुको बुझाइ छ । मेची राजमार्ग कालोपत्रे भइसकेको र त्यहाँबाट भद्रपुर वा विराटनगर विमानस्थल पुग्न २ देखि ३ घण्टामात्र लाग्ने भएकोले तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङ, पाँचथर र इलामकै बासिन्दाको पहिलो प्राथमिकता सडक यातायात नै हुने गरेको छ । तराईका क्षेत्रमा आवतजावत गर्न सडक यातायातको प्रयोग अधिक हुने अनि राजधानी काठमाडौं जान-आउन भने जहाज चढ्ने गरेको पाइन्छ । यो विमानस्थलमा अहिले सातामा दुई वटा उडान आइतबार र बिहीबार हुने गरेका छन् ।

सुकिलुम्बाजस्तै देशका विभिन्न जिल्लामा निर्माण भएका विमानस्थलहरु प्राय बन्द छन् भने केही यदाकदामात्र चल्ने गरेका छन् । ‘ठूलो लगानी गरेर एयरपोर्ट बनाउनु र त्यहाँ नियमित उडान भर्न नसक्नुले देशको अर्थतन्त्रमै नकारात्मक असर पारिरहेको छ’- एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको भनाइ छ । उनी विमानस्थल बनाउन ठूलो रकम खर्च गर्नुभन्दा सडकलाई फराकिलो र कालोपत्रे गर्दा उचित हुने तर्क सुनाउँछन् ।

देशमा अहिले ५६ वटा विमानस्थल छन् । तीमध्ये मुस्किलले आधा पनि सञ्चालनमा छैनन् । पूर्वमा विराटनगर, चन्द्रगढी, सुकीलुम्बा, सुकेटार, तुम्लिङटार, भोजपुर, खानीडाँडा, लामीडाँडा, थामखर्क, काँगेलडाँडा, फाप्लु, लुक्ला, स्याङ्बोचे, रुम्जाटार र खिजी-चन्डेश्वरी विमानस्थल छन् । यीमध्ये विराटनगर, चन्द्रगढी, तुम्लिङटार र लुक्ला नियमित सञ्चालित छन् भने अरु यदाकदा र केही त चलेका पनि छैनन् ।

सिमरा, जनकुपुर र राजविराज विमानस्थल भने चलिरहेका छन् । लाङटाङ, मेघौली र जिरी विमानस्थल बन्छ छन् । मन्थलीमा यदाकदा उडान हुने गरेको छ । हुम्दे, ढोरपाटन र पालुङटार बन्द नै छन् । रोल्पा विमानस्थल बन्द छ । कर्णालीमा रहेका विमानस्थलमध्ये चौरजहारी, मसिनेचौर र कालिकोट बन्द छन् भने ६ वटामा उडान हुने गरेका छन् तर सीमित मात्रामा । सुदूरपश्चिममा टीकापुर, धनगढी, महेन्द्रनगर, कमलबजार, साँफेबगर, कोल्टी, बझाङ, पाटन, दार्चुला र सिलगढी विमानस्थल रहेका छन् । यीमध्ये टीकापुर, महेन्द्रनगर, बझाङ, पाटन, दार्चुला र सिलगडी बन्द छन् । अन्यमा भने यदाकदा उडान हुने गरेको पाइन्छ ।