‘अतिथि, पूर्वज र अग्रजहरूको सम्मान गरौँ’

‘अतिथि, पूर्वज र अग्रजहरूको सम्मान गरौँ’


पङ्क्तिकार स्वभावैले बुढापाका अर्थात् जेष्ठनागरिकहरूबाट अलिक रुचाइने स्वभावको छ अरे ! यसो भन्छन् हाम्रा छोराछोरी । ‘तपाईंलाई नयाँ पुस्ताले भन्दा हजुरबा-आमाहरूले रुचाउनुहुन्छ’- ठ्याक्कै यसै भन्छिन् ठुली छोरीले । पङ्क्तिकारकै स्कुलिङको कारणले होला… छोराले पनि अचेल पाको उमेरका वृद्धवृद्धाहरूप्रति सम्मान बढाउँदै लगेको छ । व्यवहारमै यस्तो झल्कन्छ । यो सँस्कार वास्तबमा हाम्रो पूर्वीय सभ्यताको महत्वपुर्ण कडी हो । सबै परिवारजन अर्थात् हाम्रा घर-परिवारमा अग्रजको सम्मान गर्ने परम्पराले समुदायका अग्रजहरूलाई सम्मान गर्ने संस्कृतिमा योगदान पुऱ्याउन सक्छ ।

तर अचेल ब्यक्तिवादी पश्चिमा प्रणालीले हाम्रो सामुदायिक पद्दतिमा प्वाल पार्न खोजेको छ । त्यसैको असर होला सायद पाका उमेरका पाहुना आउँदा कतिपय घरमा झिँजो मान्छन् । मैले नै सुनेको छु, ‘पाहुना लिएर घरमा आउने भए बरु तिमी पनि नआउनु’ भन्ने घर-घरका दबाब ! आफ्नो घरमुलीलाई यसरी प्रतिबन्ध लगाउने दाजुभाइ वा दिदीबहिनी मैले चिनेको मात्र हैन आँखैले देखेको छु । यस खालको सोचले हाम्रो परम्पराका मुल्यहरू नष्ट गर्दै लागेको छ । परिवारभित्रका पवित्र सोचहरू गलत सावित गर्ने होड चलेको छ । त्यसको दोष ब्याक्तिमा खोज्ने भन्दा पनि अहिलेको प्रचलित सिष्टमभित्र खोजेर सच्याउने अभियान चलाउनु पर्दछ ।

ती घरमै निमोठिएका सङ्कीर्ण सोचहरूप्रति पङ्क्तिकारको केही गुनासो छैन । गुनासो त पुरानो साँस्कृतिक विरासतको क्षयीकारणप्रति हो । हाम्रो अग्रजलाई सम्मान गर्ने, अतिथिलाई भगवान् सरह मान्ने परम्पराको क्षयीकारणका कारणहरूप्रति हो ।

अर्थका दृष्टिले भन्दा ‘ज्येष्ठ’ र ‘वरिष्ठ’ फरक भाष्य बोकेका शब्दहरू हुन् । तर सम्मानको दृष्टिकोणले भन्नुपर्दा दुवैमा खासै भिन्नता नहुन सक्छ । उमेरको हिसाबमा आफूभन्दा पहिले जन्मेका सबैलाई अग्रज भन्न सकिन्छ । अग्रज शब्दले ज्येष्ठ शब्दलेभन्दा ब्यापक अर्थ वहन गर्दछ । हामीभन्दा कोही पहिले जन्मे तर अहिले यस धर्तीमा छैनन्, तिनीहरू हाम्रा पूर्वज वा अग्रज हुन् । अग्रजले ज्येष्ठताको अर्थ त दिन्छ नै, यो शब्दले पूर्वजलाई पनि दर्शाउँछ । हामी आफ्नै पचासौं पुस्तापहिले जन्मेकालाई पटक्कै चिन्दैनौँ भने पनि तिनीहरू हाम्रा पुर्खा हुन्, हाम्रा अग्रज हुन् । यसर्थ अग्रजले वंशजमा हामीभन्दा पहिलेको अर्थ पनि दिन्छ । त्यस्तै वरिष्ठ शब्दको अर्थ जिम्मेवारीसँग जोडिएको हुन्छ । त्यसको अर्थ उमेरसँग भन्दा पनि विशेष योगदान दिने भाव र कर्मसँग जोडिएको हुन्छ । ज्ञान, सीप र अनुभवलाई समाजको हितमा परिचालन गर्ने खुबीसँग जोडिएको हुन्छ ।

माथि भन्न खोजिएको गुदी कुरा हाम्रो संस्कृतिले अग्रजहरूलाई कसरी सम्मान दिन्थ्यो र त्यो संस्कृतिको अहिले कसरी क्षयीकरण भइरहेको छ ? त्यसको कारणसँग सम्बन्धित छ ।

आधुनिक सामाजिक प्रणालीले हरेक सेवालाई ब्यक्तिगत नाफा-घाटासँग तुलना गरेर हेर्छ । ब्यक्तिको सोचभन्दा माथिबाट सामाजिक अर्थ प्रणालीले थोपरेको दोषका कारण अग्रजहरूलाई सम्मान गर्ने संस्कृतिमा विचलन आइरहेको छ । अहिलेको वैश्विक प्रणालीको सिधा सम्बन्ध वैश्विक आर्थिक प्रणालीसँग जोडिएको छ । सम्पतिलाई समाज सम्बन्धको मापन गर्ने आधार मान्ने प्रणालीको कारण हामी परिवारको सानो इकाईमा विभक्त हुन बाध्य छौँ । हामी आफ्नो आवश्यकताको लागि देश-विदेश पुगेर काम गर्न बाध्य छौँ । सम्पतिको लागि आफन्त र अग्रजहरूलाई त्याग्न बाध्य छौँ । यसर्थ हामीलाई टुक्र्याउन अहिलेको वैश्विक प्रणालीले ठुलो भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध ब्यापारको जोडघटाउमा निर्भर हुनु, समुदाय र ब्यक्तिको सम्बन्ध अर्थ-राजनीतिको चपेटामा पर्नु, परिवारका अग्रजहरूलाई समेत श्रमको उत्पादकत्वमा जोखेर सोहीअनुसारको ब्यवहार गरिनु मानव सभ्यता बिघटनको दुखद अवस्था हो ।

टुक्रिएको परिवारमा जिम्मेवारी कम हुन्छ भन्ने सोचले हाम्रो दिमागलाई कैद गर्दै लगेको छ । त्यसमा हाम्रो संस्कृतिका पुराना विरासतहरू खिइँदै ख्याउटे बनिरहेका छन् । त्यही कारण अहिले आधुनिक वैश्विक प्रणालीको विरुद्ध मौलिक सभ्यतामा फर्कने जायज बहस विश्वभर चलिरहेको छ ।

भूमण्डलिकृत उदारीकरणले गर्दा पहिलेको तुलनामा परिवारको आकार सानो हुने तथा परिवारमा सदस्य सङ्ख्या कम हुने क्रम निरन्तर बढिरहेको छ । मानिसहरूले थातथलो र आफ्ना अग्रजहरू छोडेर विदेशिने क्रम तीव्र छ । गाँउ रित्तिँदै छन्, घरहरू खण्डहर बन्दै गएका छन् । अल्पविकसित देशको रूप विकृत हुँदै छ । अग्रजहरू दुखसँग एक्लै बसेर आँशुको आहालमा डुबीरहेका छन् ।

पहिलेजस्तो संयुक्त परिवारको प्रथा कमजोर भइसकेको वर्तमान अवस्थामा मुख्यगरी अग्रजप्रतिको जिम्मेवारीलाई बोझ सम्झन थालिएको छ । नयाँ पुस्ताबाट अग्रजहरूप्रति सम्मानभाव घटेको छ । अग्रजप्रति परिवारजनमा हुनुपर्ने सद्भाव र सम्मानमा कमी आएको मात्र नभइ सुरक्षाको खतरा समेत देखिएको छ । मानिसको सोच सम्पति र नाफामुखी भएको छ । वैश्विक प्रणालीले ब्यक्तिलाई तत्कालको फाइदामा मात्र केन्द्रित गरेको छ । हार्दिकता वा करुणाको अभावमा समाज अराजक र हिंसायुक्त बन्दै गइरहेको छ । यही वैश्य नीतिको प्रभाव परेको छ परिवारमा पनि । परिवारमा अग्रजको वास्ता नगर्ने प्रवृत्ति बढिरहेको मुख्य कारण पनि यही पुँजीमुखी प्रणाली हो र यसले समाजमा परम्परागत सम्मानको ढाँचा नै बदल्दै लागेको छ ।

अग्रज भनेका आफैंमा संस्कृतिका खानी हुन् । अनुभवका भण्डार हुन् । उनीहरूले लामो जीवनयात्रामा धेरै कठिन चुनौतीको सामना गरेका हुन्छन् । कस्तो चुनौतीको सामना कसरी गर्ने भन्ने कुरो पनि बुझेका हुन्छन् । कतिपय गहन विमर्शमा अग्रजको राय लिनु पनि पर्छ । फेरि सम्मान त हाम्रो संस्कार हो, संस्कृति हो, परम्परा हो । सम्मान गर्नेले सम्मान पाउँछ पनि । जसले सम्मान गर्न जानको छैन, उसले अरुबाट सम्मान पाउन पनि त्यति सजिलो हुँदैन । भन्नुको तात्पर्य अग्रज हुने पालो एक दिन सबैको आउँछ । हरेकले आफ्नो उमेर नबाँची सुखै छैन । बिस्तारै घरपरिवारमा, टोल र समाजमा हामी सबै अग्रज बन्दै गइन्छ । जानी-जानी अग्रजको सम्मान नगर्नेले यही कुराको मनन गर्नुपर्छ कि अहिले जसलाई सम्मान दिन अप्ठ्यारो लागिरहेको छ, कुनैबेला समाजमा उनको कस्तो स्थान थियो । अहिले म यस्तो छु, भविष्यमा म यस्तै रहिरहने छु भन्ने होइन । समय परिवर्तनशील छ, समाज पनि निरन्तर बदलिरहेको छ । यसक्रममा मैले गर्ने गरेको व्यवहारको ब्याजसहित समयले हामीबाट पनि असुलउपर गरेरै छाड्छ भन्ने कुरा कसैले बिर्सनु हुँदैन ।