राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड


राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आज (६ असार)को बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे ।

‘राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्रीले भने । उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको बताए ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले कैलालीको टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले टिकापुर घटनामा जनधनको अपुरणीय क्षति भएको बताए ।

‘टिकापुर घटना दुःखद् हो, जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो, घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिको हकमा कानुनबमोजिम नै हुनेछ’, प्रधानमनत्रीले भने । कैद माफी मिनाहाको विषय पनि कानुनबमोजिम नै हुने उनको भनाइ छ ।

थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।