केही स्थानमा मुसलधार वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध

केही स्थानमा मुसलधार वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध


मनसुनी प्रणालीको प्रभाव यतिबेला कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज (७ असार) राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सम्भावित बाढीपहिराको जोखिमबाट पनि सचेत रहन आग्रह गरेको छ ।

विभागले जनाएअनुसार गण्डकी प्रदेशका केही तथा कोशी, मधेस र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका एक/दुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रमा गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।