पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध


दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज (१२ असोज) बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिएका छन् ।

बताइएअनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

यस्तै, पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आज (१२ असोज) बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले जानकारी दिए । यस्तै इच्छाकामना गाउँपालिका-३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको छ । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यसैबीच नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

निरन्तर वर्षाले केही नदीमा जलसतह खतरास्तर नजिक

अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा गएराति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।

photo: rss