भगवान् शिव र योग-विज्ञान

भगवान् शिव र योग-विज्ञान


हिमवत्खण्डको प्रमुख भू-क्षेत्र नेपाल तपोभूमि, ज्ञानभूमि र ध्यानभुमिको रुपमा दिव्य हजारौँ वर्षदेखि एक आध्यात्मिक केन्द्रको रुपमा रहँदै आएको छ । योगका प्रणेता भगवान शंकरको वासस्थान कैलाश यही हिमवत्खण्डमा अवस्थित भएकोले पनि योगका सन्दर्भमा चर्चा गर्दा यस क्षेत्रको महिमा बिना पूर्ण हुन सक्दैन । वैदिक शास्त्रहरूले समेत प्राचिन मानव सभ्यताको केन्द्रका रूपमा कैलाश क्षेत्र, हिमालयलाई नै मानेको छ । भगवान् शिव सबै योगीहरूका समेत पूजनीय, वन्दनीय र आराध्य देव भएकाले योगीश्वर अर्थात् योगीहरूका पनि योगी भनी चिनिन्छन् ।

आसनानि च तावन्ति यावन्त्यो जीवजातयः ।
एतेषानतुलान्भेदान्विजानाति महेश्वरः ।। (ध्यान विन्दू उपनिषद् श्लोकः ४२)

यस विश्व चराचर जगतमा प्राणीहरूको जति सृष्टि गरिएका छन् त्यति नै सङ्ख्यामा योगासनहरू छन् । आत्मा र परमात्माको मिलन गराउनु र मनलाई शुद्ध बनाउनु योग हो । ज्ञान विज्ञानको वास्तविक स्वरुपलाई योग भनिन्छ । योग सिद्धान्त हो, व्यवहार हो, साध्य हो र साधन पनि हो । योगको अर्थ हुन्छ जोड्नु, मिलन हुनु, एकाकार हुनु । दुई वा दुईभन्दा धेरैसँग मिल्नु वा जोड्नु योग हो । त्यसैले वैदिक शास्त्रहरूले उद्घोष गरेका छ, जीवात्माको परमात्मासँगको संयोग नै योग हो । आफ्नो चेतनालाई आनन्दमा जोड्नु योग हो । योगासनद्वारा आनन्दमा पुग्नु योग हो । शारीरिक रूपमा स्वस्थ्य र मानसिक रुपमा आनन्दमा रमाउनु योग हो । योगले सबै दुःखबाट छुट्कारा दिन्छ र दुःखको गर्तबाट बाहिर निकाल्ने काम गर्दछ । दुःख निवृत्ति र परमानन्दको प्राप्ति नै योगको मूल उद्देश्य हो । चित्तवृत्ति अर्थात् विचार, कल्पना, सपना र अहङ्कारबाट मुक्त हुनु नै योग हो । मुनि श्रेष्ठ पतञ्जलीले योगलाई अझ सरल बनाउने काम विभिन्न भाष्यमार्फत गरेका थिए । सहज र सरल मात्रै होइन यसलाई विश्वमा चिनाउने कामसमेत गरेका थिए ।

योगेन चित्तस्य पदेन वाचां
मलं शरीरस्य च वैद्यकेन ।
योऽपाकरोत् तं प्रवरं मुनीनां
पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि ।।

चित्त (मन) शुद्धिको लागि योग, वाणी (बोली) शुद्धिको लागि पद (व्याकरण) र तन(शरीर) शुद्धिको लागि वैद्यक (आयुर्वेद)का ज्ञाता संकलकर्ता मुनिवर पतञ्जलीलाई अञ्जली बद्ध भएर नमस्कार गर्दछु ।

पातञ्जल योगदर्शनअनुसार ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् योग शास्त्रको मूल उदेश्य भनेको चित्तवृत्ति निरोध हो । यसले जीवात्मालाई परमात्मामा मिलाएर सारा ताप, दुःख, चिन्ता आदिलाई नष्ट गरेर निरतिशय सुख, शान्ति, समृद्धि र आनन्दको अनुभव गराउँछ । ब्रह्मसूत्र अनुसार ‘ध्यानादिरूपो योगः’ अर्थात् ध्यान आदिको रूप पनि योग हो । श्रीमद्भगवद्गीताको अनुसार ‘सिद्धसिद्धोः समोभूत्वा समत्वं योग उच्यते’ सिद्धि र असिद्धिमा समानताको भावविशेष पनि योग नै हो । योगको लक्ष्य त ज्ञान हो, मोक्ष हो । योगमा आकर्षण छ, पक्षपात छैन । वादविवाददेखि रहित सार्वभौम छ । सिद्धान्तमा मात्रै सीमित छैन, व्यवहारिक छ, उपयोगी छ, सबै उमेर समूहलाई सुहाउँदो छ । योगका धेरै आयमहरू छन् । योगको वर्णन सबै शास्त्रहरूले गरेको पाइन्छ ।

भगवान् शिवको विज्ञान भैरवतन्त्र, गोरखनाथको र पतञ्जलिको पतञ्जलि योग सूत्र, गोरनाथ,महर्षि कपिल, अष्टाव्रक, चारवाक, सिद्धार्थ गौतम एवम् विभिन्न पुराण, गीता, उपनिषद्, दर्शन आदि शास्त्रहरूमा योगको चर्चा परिचर्चा गरिएको पाइन्छ ।

योग विभिन्न प्रकारका छन्-

स्वाध्याययोग, अध्यात्मयोग, भक्तियोग, कर्मयोग, सांख्ययोग, हठयोग, राजयोग, सृष्टियोग, लययोग, पाशुपतयोग, मननयोग, राजयोग, आत्मायोग, तपस्यायोग नाद योग, मन्त्र योग, कुण्डलिनी योग, साधना योग, मुद्रा योग, आदि ।

शास्त्रहरूमा योग-

योगः कर्मशु कौशलम् ।। (श्रीमद्भगवद्गीता श्लोक २/५०)
अध्यात्म योगबाट परमात्माको साक्षात्कार गरी मान्छे सुख, दुःखबाट मुक्त हुन्छ । (कठोपनिषद्)
मनुष्यको परम धर्म भनेकै उसको योगको माध्यबाट आत्म-दर्शन गरुन् । (याज्ञवल्क्य)
यस ब्रह्माण्डका नायक परमात्मालाई जान्ने उपाय योग हो । (कैवल्योपनिषद्)
तपो न परं प्राणायामात् ततो विशुद्धिर्मलानां दीप्तिश्च ज्ञातस्य । (सांख्ययोगी)
मानिसभित्र भएका नकारात्मक कुण्ठाहरूलाई योग-अग्निले छिट्टै जलाएर भष्म पारिदिन्छ । (कूर्म पुराण)
मनुष्य जन्म लिएर जसले आत्मा ज्ञानको लागि योग गर्दैनन्, उनीहरू काम वासनारूपी भोगमा फसेर योग सिद्धिबाट वञ्चित रहन्छन् । (श्रीमद्भागवत ११/२६/२९)
प्रकृतिको बन्धनबाट चैतन्य प्राप्त हुनु (मुक्त) नै योग हो । (सांख्य दर्शन)

योगाभ्यास गर्ने फाइदाहरू मानसिक, शारीरिक, रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि, अनावश्यक रीस नियन्त्रण, दीर्घायु जीवन, भौतिक सुख, मानसिक शान्ति, सामूहिक समृद्धि, धैर्यता, विचार गर्ने क्षमता बृद्धि, सहनशीलता, उच्च मनोवल आदि ।

योगको उद्गम स्थल हिमवत् खण्ड नेपाल हो । ऋषि मुनिहरूले यहीँ हिमालयको काखमा बसेर योग साधनाहरू गरेका थिए । योग साधनाको लागि सबैभन्दा पवित्र र पावन भूमि नेपाल हो । योग पूर्विय समाजले संसारलाई दिएको सबभन्दा श्रेष्ठ, सुन्दर र अलौकिक उपहार हो । नेपाल योगको जननि हो र योग धरोहर हो । प्राचिनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमद्वारा मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आजभोलि फेसन, आडम्बर, व्यापार, ब्राण्ड, लोगो आदि हुन खोजेको छ, यो ‘योगा’ हो ‘योग’ होइन ।

हामीसँग कस्तुरी थियो तर हामीले चिन्न सकेनौँ । राजनैतिक अस्थिरता, योगको पठनपाठनको कमी, प्रचारप्रसारको अभाव आदिले गर्दा बत्तीमुनिको अँध्यारो जस्तै भएका छौँ । आज योगको सही प्रचारप्रसारको कमिले गर्दा द्वन्द्व, अशान्ति, हिंसा, दुर्व्यसन, चोरी आदि बढिरहेका छन् । वर्तमान समयमा यसको महत्त्वमा कमी आएको छ । योग हाम्रो जीवनमा अपरिहार्य छ । त्यसैले हामीले बेलैमा कस्तुरीको पहिचान गर्नुपर्दछ । योग, ध्यान, ज्ञान, तपस्यको लागि सबैलाई नेपाल आउने वातावरण सिर्जना गर्नुपर्छ । ‘योग राष्ट्र’को नाममा चिनाउनुपर्छ । विश्वमा योगको गुरुदेश नेपाल हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने नै छ ।

(लेखक योग प्रशिक्षक हुन् ।)