संगीतका पारखी रमेश पाठक : सबै विधाका गीतमा अब्बल

संगीतका पारखी रमेश पाठक : सबै विधाका गीतमा अब्बल


धादिङको गजुरीका रमेश पाठकले संगीत क्षेत्रमा २२ वर्ष बिताइसकेका छन् । २०५९ देखि सांगीतिक क्षेत्रमा आवद्ध भएका उनी गीत लेखन, संगीत भर्नेदेखि गीत गाउने अर्थात तीन वटै विधामा सक्रिय भइरहेका छन् ।

२०४० सालमा आमा इश्वरी र बुबा चूडाबहादुरका सन्तान भएर जन्मिएका पाठकले गजुरीको आदर्श उच्च माविबाट एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षा लिन राजधानी आएका उनी ललितकला क्याम्पसबाट प्लस टु उत्तीर्ण भए । अध्ययनसँगै संगीत सिक्न थालेका उनले गुरुदेव कामत र भानुभक्त ढकाल जस्ता संगीतका गुरुबाट संगीतको शिक्षा पाए । ६ वर्ष उनीहरूसँग रहेर गीतलेखन, गायन र संगीत भर्ने काम पनि गर्दै आएका पाठकका ५० बढी गीत रेकर्ड भइसकेका छन् ।

‘के गर्ने के गर्ने, माया भन्छिन् अहिले बिहे गर्ने’ बोलको आफ्नै शब्द, संगीतमा मेलिना राईसँग रमेशले युगल गीत गाए । दोहोरी, लोक, आधुनिक, तीजजस्ता पर्वका गीत अर्थात सबै क्षेत्रका गीतमा उनले लेखन, संगीत भर्ने र गाउने गरिरहेका छन् । ‘तिम्रै याद आउँछ सधैं तिमीले छोडी गएपनि, फलोस् फुलोस् तिम्रो जीवन तिमी जहाँ रहेपनि’ उनकै शब्द र स्वरमा गाएको यो गीतमा उनकै गुरु भानुभक्त ढकाल संगीत भरेका छन् ।

यस्तै ‘कानैमा झुम्का झल्काउने, नाकैमा फुली टल्काउने, के गर्न खोजेकी सानीले मै सोझोलाई पल्काउने’ शब्द प्रकाश क्षणिकको, संगीत कल्याण सिंहले भरेको गीत निक्कै रुचाइएको छ । ‘मन परेको मान्छेलाई हत्ते हालिन्छ के सोचेको मलाई ओए, एउटलाई त सुखैसँग पालिन्छ’ शव्द र संगीत बेग रानाको गीतमा उनले स्वर दिएका छन् ।

‘भविष्य पनि गायन, संगीत र लेखनमै बिताउने लक्ष्य छ । स्टेज, कलेजहरुमा हुने प्रोग्राममा निर्णायक बन्ने, व्यवसायिक कार्यक्रमहरुमा प्रस्तुति दिने नै आम्दानीको स्रोत भइरहेको छ’, उनले घटना र विचारसित भने ।

अहिलेसम्म आफूले गाएका, संगीत भरेका गीतबाट युट्युबले २० लाख रुपैयाँ बढी दिएको बताउने उनी निरन्तरको साधना हुँदा संगीत क्षेत्रबाट पनि गुजारा चलाउन सकिने बताउँछन् ।

‘सिक्नेक्रम निरन्तर चलिरहेको छ । संगीतमा नयाँ-नयाँ कुरा पस्कन मन लाग्छ । तीज गीत, दशैँतिहारका गीत, भूकम्प र कोरोनाका समयमा जनचेतनामूलक गीत गाइसकेको छु, अब पनि आवश्यकताअनुसार सबै विधाका गीत गाइरहने मन छ’, पाठकले भने ।

पाठकले दशौँ म्युजिक खबर अवार्ड, तेस्रो नाट्येश्वर म्युजिक अवार्ड, चौथो हिमालयन इन्टरनेशनल अवार्डसमेत दर्जनौँ अवार्ड तथा सम्मान पाइसकेको बताए ।