करण परियारले जिते ‘नेपाल आइडल-५’को उपाधि

करण परियारले जिते ‘नेपाल आइडल-५’को उपाधि


प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले हासिल गरेका छन् । शनिबार (८ असार) साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा दर्शकबाट प्राप्त मतका आधारमा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै करण विजेता बनेका हुन् ।

प्रतियोगिता विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् भने पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरेका छन् ।

विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, गायिका इन्दिरा जोशी र सङ्गीतकार कालिप्रसाद बाँस्कोटा निर्णायक रहेका थिए ।