चोरीपैठारी गरिएको ७१२ बोरा युरिया मल बरामद

चोरीपैठारी गरिएको ७१२ बोरा युरिया मल बरामद


पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले चोरी तस्करी गरेर भित्र्याइएको रु १० लाख मूल्य बराबरको सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । तस्करले भारतीय मल भन्सार छली चोरीपैठारी गरेर वीरगञ्जमा ल्याइ अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो ।

पर्सा जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापा मर्दा सो मल बरामद भएको बताए ।

प्रहरीले मल भण्डारण कार्यमा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका वडा नं ९ का ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । बरामद मल भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।