गण्डकी प्रदेशका सांसद देवकोटाको पक्षमा सर्वोच्चको फैसला, पाण्डेको सरकारलाई मिल्यो राहत

गण्डकी प्रदेशका सांसद देवकोटाको पक्षमा सर्वोच्चको फैसला, पाण्डेको सरकारलाई मिल्यो राहत


गण्डकी प्रदेशसभाका सदस्य एवम् प्रदेश मन्त्रीसमेत रहेका फणिन्द्र देवकोटालाई प्रदेश सदस्यको रुपमा निरन्तरता दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार (१० असार) अन्तरिम आदेश जारी गर्दै देवकोटालाई भएको कारबाही कार्यान्वयन नगर्नू/नगराउनू भनेको छ ।

देवकोटा गण्डकी प्रदेशसभा सदस्य रहेको र नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको तथ्य उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘निवेदक नेपाल समाजवादी पार्टीसँग आवद्ध रहेको र सो पार्टी निवेदकले त्याग गरेको नदेखिनुको साथै सो पार्टीले निवेदकलाई कारबाही गरी निष्कासन गरेको समेत देखिँदैन । निवेदक आवद्ध नभएको राजनीतिक दल नेकपा (माओवादी केन्द्र)बाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार उल्लिखित संवैधानिक र कानुनी व्यवस्थाको रोहमा प्रत्याभूत गरेको देखिएन’ देवकोटालाई गण्डकी प्रदेशसभाको सदस्यको हैसियतमा कार्यरत रहन दिनू भन्ने सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ ।

सर्वोच्चको यो अन्तरिम आदेशसँगै गण्डकी प्रदेशका कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेको सरकारलाई राहत मिलेको छ ।