शिक्षामन्त्री सुमनाले सांसद पर्खनुपर्दा…

शिक्षामन्त्री सुमनाले सांसद पर्खनुपर्दा…


प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा बिहीबारको बैठक एक घण्टापछि सुरु भयो । बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने आज (१३ असार) ठिक समय (बिहान साढे ७ बजे) नै समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित भएकी थिइन् ।

निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित ६ सांसद मात्रै उपस्थित भएपछि बैठक सुरु हुनसकेन । ‘नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको विधेयक’माथिको छलफलका लागि राखिएको बैठकमा साढे १० बजेपछि समितिका लागि शिक्षामन्त्री श्रेष्ठले आफ्नो अन्यत्र बैठक रहेकाले जान अनुमति माग्दा सभापति थापाले मन्त्री र सांसदहरुको समय मिलाउन आफूलाई हम्मेहम्मे पर्ने गरेको दुःखेसो गरे ।

‘म यो विधेयक छिटो पारित गरेर विद्यालय शिक्षासम्बन्धी विधेयकमा छलफलमा जाउँ भन्ने सोचेको हो तर सोचे जस्तो भइरहेको छैन’, सभापति थापाले भने, ‘समयप्रति सबैले उत्तिकै चासो र गम्भीरता देखाउन आवश्यक छ ।’

समितिको बिहीबारको बैठकमा उक्त प्रस्तावित विश्वविद्यालयका लागि कूलपति प्रधानमन्त्री राख्ने नराख्ने, उपकूलपतिका अधिकार कसरी व्यवस्थित गर्ने भन्नेलगायत विवाद भएको थियो । उक्त विवादलाई आपसी छलफल गरेर सहमतिको खाका पेस गर्न समितिले सदस्य विद्या भट्टराईलाई जिम्मेवारी दिएको छ । राष्ट्रियसभाबाट पारित सो विधेयकको दफा २८ सम्म छलफल भएको छ ।

file photo