केन्द्रीय कार्यसमितिको आकार बढाउने एकीकृत समाजवादीको निर्णय

केन्द्रीय कार्यसमितिको आकार बढाउने एकीकृत समाजवादीको निर्णय


नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पुऱ्याउने निर्णय गरेको हो ।

पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले दिएको जानकारी अनुसार बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने र पदाधिकारीको सङ्ख्या २१ बनाउने निर्णय गरेको छ । एक महिला तथा वरिष्ठसहित सात उपाध्यक्ष र सचिवको सङ्ख्या पनि सात कायम गरिएको छ । यही असार १६ देखि २० सम्म काठमाडौंमा हुने महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रम, वैचारिक दृष्टिकोण पारित गर्ने र त्यसका आधारमा नयाँ नेतृत्व चयन गरिने पार्टीले जनाएको छ ।

मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गरिएको बैठकमा विभिन्न दस्तावेजमा समीक्षा गरिएको स्थायी समिति सदस्य रायमाझीले जानकारी दिए । महाधिवेशनको तयारी, मातहतका कमिटीमा कार्यप्रगतिबारे छलफल गरिएको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने समझदारी भएको छ ।

पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरेको छ । छनौट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था परिवर्तन गरी मनोनित नगर्ने निर्णय बैठकले गरेको बताइएको छ ।