पहिरोले सिँचाइ नहर बगाउँदा रोपाइँ प्रभावित

पहिरोले सिँचाइ नहर बगाउँदा रोपाइँ प्रभावित


धान रोप्ने बेलामा पहिरोले नहर बगाएपछि पोखरा महानगरपालिका-१९ पुरुनचौरका कृषक चिन्तित बनेका छन् । सार्दीखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर स्थानीपाताल भन्ने ठाउँमा गत मङ्गलबार रातिको वर्षासँगै पहिरोले बगाएको थियो । पहिरोले बगाएपछि नहर पूर्ण रुपमा बन्द भएको छ ।

नहरमा पानी नआएपछि धान रोपाइँको तयारी गरेका कृषक निरास बनेका हुन् । पोखरा-१९ पुरुनचौरका स्थानीय इमानराज पौडेलले नहरबाट पानी नआउँदा साविक पुरुनचौरको वडा न ६, ७, ८ र ९ गरी चार वडाका सयौँ कृषकहरु धान रोपाइँबाट वञ्चित भएको बताए । पुरुनचौरमा यसवर्ष आधाभन्दा बढी खेतमा रोपाइँ हुन बाँकी छ । सो सिँचाइ आयोजनाबाट तीन सय ५० हेक्टर जमिन सिँचित हुँदै आएको थियो ।

‘धानको बीउ छिप्पिन लागिसकेको छ तर नहर नचल्दा पुरुनचौरको धान रोपाइँ हुने क्षेत्रका आधा जमिन पूरै सुक्खा हुने अवस्था छ’, पौडेलले भने- ‘पुरानो कुलो सञ्चालनमा छैन । आकाशबाट पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन ।’

पहिरोले ३० मिटर नहर बगाएको छ । यस विषयमा स्थानीयवासीले पोखरा महानगरपालिका तथा प्रदेश सरकारसँग ध्यानाकर्षण गराएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पहिरोले क्षति पुगेको नहरको स्थलगत अवलोकन गर्दै स्थानीय कृषकहरुलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्रीले नहर पुनःनिर्माणका लागि प्रदेश सरकारले तुरुन्त काम अघि बढाउने जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले भनेका छन्- ‘प्रदेश सरकारले कृषकले भोग्नुपरेको समस्या तुरुन्त समाधान गरिनेछ । हामीले छिटोभन्दा छिटो नहर मर्मत गरी पानी सुचारु गर्नेतर्फ लाग्ने छौँ । खेतीयोग्य जमिन बाँझो हुन दिनेछैनौँ ।’

सार्दीखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो । माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौरको जमिनमा सिँचाइ गरिँदै आएको थियो ।

तस्बिर : रासस