शान्ति

शान्ति


सुन.. सुन्नुहोस्.. महोदय !
जुन दिनदेखि-
शान्त हाम्रो हृदयमा
रहरहरूले जरा गाड्न थाले
अभावका ढोकाहरू खोलिए
दबाबको दबदबा बढ्दै गयो
हो उसै समयदेखि,
समुन्द्रजस्तो शान्त बसेको मनमा
कौतुहल जाग्यो,
इच्छाहरूले जरा गाडे
आडम्बरले प्रश्रय पायो,
देखासिखीले
मनमा इच्छाहरूको ज्वालामुखी
मडारिन थाल्यो,
मनमा अशान्तिको बीज रोपियो,
इच्छाहरूका लाभा
विष्फोट भएर छताछुल्ल भए ।

सुन.. सुन्नुहोस्.. अब-
हराएको शान्ति फर्काउनु छ भने,
शान्तिलाई पुनर्वास गराउनु छ भने
हामीले हाम्रा इच्छाहरूलाई तइनमा राख्न सक्नुपर्छ,
रहरहरूलाई पूर्णविराम दिनुपर्छ,
आडम्बरलाई लगाम लाउनुपर्छ,
देखासिखीलाई कुनामा थन्क्याउनुपर्छ
तब पुनः शान्तिले
घरमा बास पाउने छ,
शान्तिका विरूवाहरू
मनको कोठेबारीमा
टुसाउनेछन्, पल्हाउनेछन्
अनि प्रत्येकका घरमा ढकमक्क फूल हुनेछन् ।
यसैले आफू जे छौँ, जहाँ छौँ, जसरी छौँ
त्यसमै रमाऊँ
त्यसैमा खुशी हुन सिकौँ ।
तब मात्र शान्ति-
प्रत्येक घरमा हुनेछिन् !

  • गान्तोक, सु-हिम