‘पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम सङ्गीत’ : उपप्रधानमन्त्री श्रेष्ठ

‘पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम सङ्गीत’ : उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम सङ्गीत भएको बताउनुभएको छ ।

ज्येष्ठ शुल्क पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्ने प्रस्तावसम्बन्धी ललितपुर महानगरपालिका र ललितपुर संस्कृति संवद्र्धन केन्द्रले आयोजना गरेको परामर्श बैठकमा उहाँले सङ्गीतमा इतिहास र चेतना हुन्छ भन्नुभयो । ‘नेपाललाई विश्वमाझ चिनाउन पनि सङ्गीत दिवस घोषणा गर्ने कार्य महत्वपूर्ण छ, सङ्गीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्ने कार्य ललितपुरको मात्रै सरोकारको विषय नभएको भन्दै सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारण राख्नुभयो ।

त्यस अवसरमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्ने यो प्रस्थान विन्दु भएको उल्लेख गर्नुभयो । त्यसैगरी ललितपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा महानगरमा धेरै काम गरेको उहाँको भनाइ थियो । उहाँले रातो मच्छिन्द्रनाथको जात्रालाई विश्व सम्पदाका रूपमा दर्ज गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

‘युनेस्कोमा अहिलेसम्म नेपालको कुनै पनि अमूर्त संस्कृति दर्ज भएको छैन, हामी यहाँको रातो मच्छिन्द्रनाथको जात्रालाई दर्ता गर्ने गरी काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले आफू पनि सङ्गीतमा लागेको उल्लेख गर्नुहुँदै गीतसङ्गीतले पनि राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । संस्कृतिविद् हरिराम जोशीले सम्पूर्ण मानव जीवनको सभ्यताको प्रारुप भएदेखि नै सङ्गीतको महत्व स्थापित भएको बताउनुभयो । सामवेद सङ्गीतको वेद भएको उहाँको भनाइ थियो ।

संस्कृति संवद्र्धन केन्द्रका अध्यक्ष वदनलाल न्याछ्योंले नेपाली सङ्गीतको विकासक्रमलाई उजागर गर्दै ज्येष्ठ शुल्क पूर्णिमालाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गरेर सङ्गीतको माध्यमबाट देशको बहुआयामिक पक्षलाई उजागर गर्नसके महत्वपूर्ण काम हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

तस्बिर : रासस