तीन वर्षअघि गठित नेकपा (एस)को ‘दशौँ राष्ट्रिय महाधिवेशन’ शुरु हुँदै

तीन वर्षअघि गठित नेकपा (एस)को ‘दशौँ राष्ट्रिय महाधिवेशन’ शुरु हुँदै


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आज (१६ असार) देखि काठमाडौंमा हुँदैछ । आजदेखि पाँच दिनसम्म कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने बताइएको छ ।

महाधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्नेछन् । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एस)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

पार्टीअध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनसम्बन्धी सम्पूर्ण काम पूरा भएको जनाएको छ । महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । शीर्ष नेताहरूका साथै प्रतिनिधिहरू १० बजे भृकुटीमण्डपमा भेला भएर महाधिवेशनस्थल पुग्ने कार्यक्रम छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले हालसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औँ मानेको बताएको छ ।