आज संसद् दिवस : कमी-कमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केन्द्रित गर्नुपर्नेमा सभामुखको जोड

आज संसद् दिवस : कमी-कमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केन्द्रित गर्नुपर्नेमा सभामुखको जोड


आज (१६ असाार) संसद् दिवस, अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उहाँ २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।

देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको ६ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।

यसै अवसरमा सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

संसद् दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताउनुभएको छ ।

संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताउनुभएको छ । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुऱ्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको अभिमत छ ।

मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

तस्बिर : रासस