ढाँडमा फस्यो समाजवादी : माधव नेपाललाई छिर्के !

ढाँडमा फस्यो समाजवादी : माधव नेपाललाई छिर्के !


‘ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ’ भनेजस्तो माधव नेपालको दलले महाधिवेशन गर्दै रहेको भए पनि कतै पनि उत्साह र उर्जा देखिन्न । एमाले पार्टीलाई टुक्र्याउने समयमा उग्र भएर सक्रिय रहेका ‘दश भाइ’ भनिएका प्रभावशाली नेताहरू एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न माधव नेपाल स्वयम्ले खटाएको बेला ओलीसँग ‘वार्ता गरेपछि’ उनीहरू समाजवादीमा फर्केनन् । आफूले भर गरेका तत्कालिन नेताहरू एमालेमा नै बसेपछि नेता माधवकुमार नेपालको दुःख त्यही बेलादेखि चुलिएको थियो ।

२०७९ सालको निर्वाचनपूर्वको अवस्था पनि अहिले समाजवादी पार्टीमा रहेन । दर्जन बढी प्रत्यक्षतर्फ जित्ने र राष्ट्रिय पार्टीचाहिँ बन्ने भन्ने नेता नेपालको आँकलन पहिल्यै तुहियो । २०८१ साल वैशाख १५ गते सम्पन्न भएको इलाम र बझाङको निर्वाचनमा त समाजवादीले शर्मनाक हार व्यहोर्नु पऱ्यो । आफू नजिते पनि एमालेलाई हराउन सकिने उसको विश्वास कर्कलाको पानी जस्तोगरि पोखियो । यसले पनि माधव नेपालको पार्टीको खास हैसियत देखाइदियो ।

अर्काेतर्फ ‘सम्मानित नेता’ भन्ने पद भएका नेता झलनाथ खनालको जिल्ला इलाममा कलममा आएको भोट केवल चार सय आठ मात्र रह्यो । यही कारण पनि नेता खनालको राजनीतिक, साङ्गठानिक र वैचारिक क्षमतामाथि राष्ट्रिय रूपमा नै प्रश्न खडा भइदियो । यस्तो अवस्थाको कारण नेता खनालको पक्षमा लाग्नेहरू धमाधम एमालेमा छिर्दैछन् । नेता खनाल आफैँ पनि एमालेमा जाने हल्ला चलेको भए पनि अधिवेशनको नतिजापछि मात्र नयाँ विचार गर्न सक्ने सङ्केत उनका सार्वजनिक अभिव्यक्तिहरूबाट झल्कन्छ ।

एमालेको अध्यक्ष भइसकेका पूर्वप्रधानमन्त्री खनालको नेपाली राजनीतिमा ठूलै मान, शान र इज्जत थियो । अहिले त्यो शान खरानीमा परिणत भइसक्यो । खनाललाई नाममात्रको सम्मानित नेता बनाइएको छ । सत्ता-राजनीति, नियुक्ति र पार्टीको आन्तरिक निर्णय नेता नेपाल र उनको ‘कोर टिम’ले गर्दै आएको देखिन्छ । निर्णय भएपछि मात्र नेता खनालले थाहा पाउने गरेका छन् । उता दश भाइमध्येका घनश्याम भुसाल माधवकोमा गएपछि अहिले उनै भुसाल नेता नेपाललाई छिर्के हान्न नेता खनालसँग समेत मिलेर मैदानमा खडा भएका छन् ।

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको लागि प्रमुख दलहरू मिल्नुपर्ने, राजनीतिक र कार्यक्रमिक विषयमा एक भएर अघि बढ्नुपर्नेमा उल्टो कम्युनिष्ट पार्टी विभाजन हुने र आफू सत्ता तथा शक्तिमा कसरी पुग्ने भन्नेमात्र चिन्तन नेता नेपाल र खनाल दुवैमा देखियो । प्रश्नचाहिँ माधवको पार्टी नै चौरासीको चुनावसम्म टिक्ने कि नटिक्ने भन्ने भइसक्दा पनि त्यही पार्टीमा नेता नेपाललाई छिर्के हानेर अघि बढ्न नेता खनालले भुसाललाई ‘पुसिङ’ गर्ने देखिएको छ ।

नेता नेपालको समाजवादीले महाधिवेशन गरिरहँदा पनि राजनीतिक भविष्य र पार्टीको भूमिका देख्नेहरू एमालेमा आइसके, आउँदैछन् । कार्यकर्तामा एमालेमा सानो पदमा बस्दा पनि ठूलो ‘सोसल स्टाटस’ हुन्छ भन्ने मनोविज्ञान बढी नै देखिन्छ, यसर्थ माधवको दुःख अरु बढेको हो । समाजवादीको महाधिवेशनलगत्तै धेरै नेता/कार्यकर्ता पुनः एमालेमा आउन तयार भएर बसेका देखिन्छन् । एक जना केन्द्रीय सदस्यका दावेदारले लेखकसँग भने- ‘हेरौँ रोजेको पद पाए बसौँला, नभए देखाजाएगा ।’ आफूलाई सर्वसम्मतरूपमा अध्यक्ष पद दिनुपर्ने भन्दै नेता झलनाथ खनालले अहिले पनि भूमिका खेलिरहेका छन् । यद्यपि, त्यो सम्भावनाचाहिँ पटक्कै देखिन्न ।

यसरी एकीकृत समाजवादीको महाधिवेशन भइरहँदा अध्यक्ष नेपालका अनेकथरि दुःख र कठिनाइ प्रस्ट देखिएका छन् । यही बेला पार्टीका ‘सम्मानित नेता’ खनालले आफू अध्यक्ष हुने कुरा सार्वजनिक गरेको भए पनि अहिले भुसाललाई समर्थन गर्ने भन्दै आफू सर्वसम्पत्तिमा भए अध्यक्ष हुने भन्दैछन् । माधवले टीका लगाएका र तत्कालिन एमालेमा असन्तुष्ट भएका अधिकांशलाई अहिले ‘ठूलो भाग’ चाहिएको छ । यसले माधवलाई ‘भागशान्ति मिलाउन’ समस्या पर्नेछ । महाधिवेशन भनिए पनि पार्टीमा नीतिगत, सैद्धान्तिक र वैचारिक विमर्श भएको देखिन्न । तलदेखि माथिसम्मका सबै ‘ठूला पदमा’ कसरी पुग्ने भन्ने सोचमा मात्र रहेका कारण अध्यक्ष नेपालका दुःख बढेको देखिन्छ ।

२०३९ सालदेखि २०४२ सम्म तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव रहिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०६४ सालमा एमालेको अध्यक्ष रहे । दार्शनिक चिन्तनमा रुचि भएका बौद्धिक, अध्ययनशील र तुलनात्मक दृष्टिमा स्वच्छ छवि भएका नेता हुन् खनाल । यति हुँदाहुँदै पनि खनालसँग टाउका कम भएका कारण नेपाललाई चुनौती नै दिन सक्ने अवस्था भने देखिँदैन । अर्काेतर्फ नेता खनाललाई पनि सार्वजनिक तथा आन्तरिक रूपमा अनेकौँ आरोप लाग्ने गरेका छन् । खनाललाई सर्प पाल्ने भन्दै राज्यको ढुकुटी अपचलन गरेको आरोप लाग्ने गरेको छ । पार्टीको आन्तरिक जीवनमा चाहिँ व्यक्तिवादी, आफू र आफ्नो परिवार वा नातामात्र हेर्ने, सङ्कुचित र कार्यकर्ता नचिन्ने, नेता-कार्यकताहरूको कुनै पनि समस्या हल गर्न नसक्ने आदि आरोप माधव नेपालनिकटका मान्छेले नै लगाउँदै आएका छन् ।

२०४९ सालदेखि २०६४ सालसम्म एमालेका महासचिव र २०६५ सालेखि २०६७ सालसम्म देशको ३४औँ प्रधानमन्त्री भइसकेका नेता नेपाल एमालेमा शक्तिशाली हैसियतमा रहेका थिए । देश/विदेशमा इज्ज्त र प्रतीष्ठा थियो । समाजवादी गठन गरेपछि उनको त्यो हैसियत खस्कियो । गत २०७९ सालको निर्वाचनले उनको शान, प्रतीष्ठा पूरै खरानी पाऱ्यो । नेपालको पार्टी राष्ट्रिय दल पनि बन्न सकेन । डा. सिके राउतको दलले ल्याएको भन्दा कम मत कलममा खस्यो । नेता नेपालको इतिहास गर्विलो भए पनि राष्ट्रिय राजनीतिमा अहिले अन्य दलले नेता नेपाललाई खासै भाउ दिएका छैनन् । तथापि, संसद्को अङ्कगणितको कारण सत्तामा चाहिँ रहेका छन् । नेता नेपालको समाजवादी दल सत्तामा भए पनि राष्ट्रिय राजनीति र दल जोगाएर चौरासीसम्म लान उनलाई फलामको च्यूरा चपाएजस्तै हुने प्रस्टै छ । वास्तवमा पार्टी ढाँडमा फसेको प्रतीत हुन्छ । आफूसमेत रहेका दस सांसद जोगाउन उनलाई मुस्किल पर्दै गएको छ । मन्त्री दिने भन्दै ढाँट्दै साँसदलाई राखिएको देखिन्छ ।

काठमाडौंमा समाजवादी पार्टीको महाधिवेशन हुँदै गर्दा पनि दल, राष्ट्रिय राजनीति र कार्यकर्ताहरूमा कुनै उत्साह देखिन्न । फोटो खिचेर फेसबुकमा हाल्ने र आफू केन्द्रीय सदस्यमा उठ्ने भन्दै आफैंले प्रचार गर्नेदेखि बाहेकका कसैलाई पनि समाजवादी पार्टीको अधिवेशनले मनदेखि छोएको देखिन्न । अर्काे कुरा धेरैलाई समाजवादीमा नभए/नपाए एमाले नै जिन्दावाद भन्ने मनोविज्ञान भएको देखिन्छ । यही कारण धेरै नेता/कार्यकर्ता एमालेका नेतासँग निकट हुँदै आएका छन् ।

समाजवादी र एमाले पार्टी नै एकीकरण हुने सम्भावनाचाहिँ टुटेको छ । एमालेमा एकीकरण गर्न पनि माधवले बाँडेका टिके केन्द्रीय सदस्यको पद नै काउसो हुने प्रस्ट छ । उता एमालेका अध्यक्ष ओलीसँग पौँठेजोरी खेल्दा एमालेका तत्कालिन उपाध्यक्षहरू वामदेव गौतम र डा. भीम रावलहरू राष्ट्रिय राजनीतिको परिदृष्यबाटै ओझेल पर्दैछन् । २०५४ सालमा गृहमन्त्री भएका गौतम एमालेका निर्वाचित उपाध्यक्ष थिए । उनको राष्ट्रिय राजनीतिमा ठूलै हैसियत थियो । अहिले चाहिँ नेता गौतम ‘कौन पुछेगा खिँचडीका दाल’ भने जस्तो हालतमा पुगेका छन् । अर्का उपाध्यक्ष रावलको पनि ठूलै प्रभाव थियो । अहिले उनीहरू दुवै ओझेल परेका छन् । यसबाट समाजवादीमा लागेका धेरै नेताहरूको मनमा पछि आफू पनि त्यही हालतमा पुगिने हो कि भन्ने ‘डरको ढ्याङ्ग्रो’ ठोकिएको छ ।

समाजवादी पार्टीको महाधिवेशन हुँदै गर्दा पनि माधव नेपाल आफैंलाई पार्टीलाई चौरासी सालसम्म लैजान सकिनेमा विश्वास देखिन्न । उनीसँग अहिले पदको मोलमोलाई गर्ने ठूला नेता भनाउँदाहरू नै कुन दिन एमालेमा नेता नेपाललाई सराप्दै ओलीसँग टीका लगाउन पुग्ने हुन्- कुनै ठेगान छैन । यसर्थ, माधवका अनेक दुःख घट्दो क्रममा होइन बढ्दो क्रममा रहेको प्रस्ट हुन्छ ।

पार्टीमा केन्द्रीय कमिटीको मिटिङ गराउनेदेखि बाहेक माधवको दलले सत्ता र सार्वजनिक-सामाजिक राजनीतिमा कुनै भूमिका खेल्न सकेको देखिन्न । तत्कालिन एमालेमा रहेका र समाजवादीमा आएका भएभरका तल्ला कमिटीका मान्छेहरूलाई केन्द्रमा भरेर कार्यकर्ताहरूको महत्त्वकाङ्क्षा यति बढाइयो, अहिले त्यसले माधवलाई अप्ठेरो परेको छ । काठमाडौंमा महाधिवेशन हुँदै गरेको भए पनि देशभर राजनीतिक प्रभाव देखिएको छैन । अहिले पनि आफू समाजवादीको फलानो पदमा रहेको भन्ने कुरा समाजमा ढुक्कसँग भन्न सक्ने अवस्थामा समाजवादीका नेताहरू छैनन् । भोलि फेरि एमालेमा नै फर्कने हो भन्ने मनोविज्ञान अगुवा कार्यकर्तामा बढी भएको चाहिँ देखिन्छ ।

‘गोठबाट हराएर जङ्गलमा भौँतारिएको बाच्छो’ जस्तो माधव नेपालको पार्टीको हालत देखिन्छ । महाधिवेशन गर्दै गर्दा समाजवादी पार्टी झन्-झन् ढाँडमा पसेको जस्तो अवस्थामा पुगेको छ । २०७९ सालको चुनावको बेला काङ्ग्रेस-माओवादीलाई झुक्याएर एमालेजस्तै ठूलो शक्ति भएको भन्ने भ्रम छर्ने नेता नेपाललाई अहिले आफ्नै केन्द्रीय सदस्य र सांसदहरूसँग विश्वास भएको देखिन्न । समाजवादीको नेता भएरै नेता नेपाललाई छिर्के हान्ने र पदको मोल गर्नेहरू धेरै छन् । जनमत नभएको एउटा झुन्ड बोकेर हिँडेका नेता नेपालको पार्टी कर्कलाको पातको शीतजस्तै भएको छ । वास्तवमा शीतको आयु घाम नलाग्दासम्म मात्र हुन्छ ।

प्रधानमन्त्री बन्न नेता नेपाल प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको ढोकामा पुगेको भए पनि संसद्को सङ्ख्या र वस्तुगत अवस्था त्यो सम्भव नभएपछि हिस्स पर्दै कार्यकर्ता भुलाउन महाधिवेशनमा लागेका थिए । एमालेका अध्यक्ष ओलीलाई तर्साउन र देखाउन पार्टीलाई चिरा पारेर केही दर्जन नेता बोकेर हिँडेका नेता नेपाललाई अहिले तिनैले छिर्के हान्दै पदको ‘वार्गेनिङ’ गर्दैछन् । यही कारण समाजवादी पार्टीको अधिवेशन ‘ढाँडमा फसेको बाच्छाको हालतमा’ पुगेको छ । अधिवेशनबाट नेता नेपाल अध्यक्षमा ‘चुनिने’ पक्कापक्की भए पनि त्यसलगत्तै उनलाई सिधै छिर्के हान्ने खुट्टाहरू चाहिँ बढ्दै जाने प्रस्टै छ ।