पेट्रोलियम पदार्थमा मुल्यवृद्धि

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि


नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. दुई र डिजेलमा रु. पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

निगमको सूचना अनुसार आज (१७ असार) बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६४ दशमलव ५० कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५४ दशमलव ५० कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६६ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५६ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ ।