आवधिक योजनाको महत्त्व : परिवार एवं व्यक्तिसम्म

आवधिक योजनाको महत्त्व : परिवार एवं व्यक्तिसम्म


योजनावद्ध विकास, लक्ष्य प्राप्तिको अनिवार्य शर्त हो । नेपालमा विक्रमाब्ध २०१३ सालदेखि योजनावद्ध विकासको थालनी भई हाल सोह्रौँ योजनाको चरण चुमिसकेका छौँ । यसैबीच दीर्घकालीन कृषि योजना, बन विकास गुरुयोजना, सडकको दीर्घकालीन नीति, जिल्ला शिक्षा आवधिक योजनाहरूका साथै २०५८/५९ ताका ५२ जिल्लाका आवधिक जिल्ला विकास योजना (आजिवियो)हरू पनि तर्जुमा भएका थिए । तर, साधन/स्रोतको कमी, जनप्रतिनिधिविहीनता, दस्तावेजमा वस्तुगतताको कमी जस्ता कारण कुन आर्थिक वर्षदेखि कसरी लागू गर्ने जस्ता अन्यौलतामै ती योजनाहरू दस्तावेजका रूपमा थन्किए भन्दा द्वेष दिएको भन्ने ठाउँ कमै देखिन्छ । हालमा पनि राष्ट्रिय योजना आयोग र सङ्घीय मामिला तया सामान्य प्रशासन मन्त्रालयको सक्रियतामा आवश्यक नीति, कार्यविधि, दिग्दर्शनहरू तयार पारी हरेक पालिकाहरूमा आवधिक पालिका विकास योजना (आपावियो) तयार गर्नुपर्ने भनी कानुनी बाध्यकारी व्यवस्था गरिएको परिणति आपावियोको लहरै चलेकोछ भन्दा फरक पर्दैन ।

साविकमा आजिवियो तयारी निर्देशिका बमोजिम कार्यन्वयन योजनासमेतको दस्तावेज तयार पारे पनि कुन निकायले, कस्तो जनशक्तिको/साधनस्रोतको प्रयोगबाट लागू गर्ने भन्ने विषय सुस्पष्ट थिएन । परिणाम, कार्यान्वयनमा अनुवाद नभएको तीतो यथार्थतालाई मनन गर्दा कतै आपावियोहरू पनि कागजका दस्तावेज बनेर पालिकादेखि राष्ट्रिय योजना आयोगका दराजसम्म वा चटपटे बेच्नेका ठेलासम्म पूर्ण वा आंशिक रूपमा देखा त पर्दैनन् भनेर सोच्नुपर्ने देखिन्छ । रपनि, आवधिक योजना तर्जुमाको सैद्धान्तिक विश्लेषण विशिष्ट ढङ्गले गरिएको हुँदा त्यसको प्रयोग व्यक्तिगत आवधिक योजना तयारीमा गर्ने हो भने, साधन व्यवस्था एवं कार्यान्वय गर्ने निकाय स्वयं हुँदा विशेष कामयावी हुने देखिन्छ । जसको परिणाम, यहाँ त्यसको संक्षिप्त उल्लेख गर्ने चेष्टा गरिएको हो ।

मूलत: ३-५-७ वर्षसम्मका योजनाहरूलाई आवधिक योजनाका रूपमा हेरिएको छ । आवधिक व्यक्ति विकास योजना (आव्यवियो)को सवालमा सम्बन्धित व्यक्तिको दीर्घकालीन सोच/परिलक्ष्य/परादृष्टि/दूरदृष्टि (Vision)को परिभाषा/पहिचान गरिनु पर्दछ । अब, निजले जीवनमा अन्ततः के गर्ने ? भनी निर्धारण गरेपछि, सो प्राप्ति हेतु १० वर्षमा कस्तो बन्ने रु सोही बमाजिम ९-७-५-३ वर्षमा कस्तो बन्नुपर्ने हुन्छ ? सोको पनि व्यवहारिक लक्ष्य निर्धारण गरिनु पर्दछ । त्यसपछि आफ्नो सदुअचु (सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौति) विश्लेषण अर्थात् SWOT (Strength, Weakness, Opportunity, Threat Analysis) गर्दै वर्तमान विकासको गतिलाई पनि विश्लेषणमा समेट्नु पर्दछ । यदि यही गतिलाई निरन्तरता दिने हो भने त्यो निश्चित गरिएको अवधिमा आफू कस्तो भइएला ? के त्यही नै अपेक्षित अवस्था हो ? हो भने वास्तवमा वर्तमान गतिलाई नै कायम राख्नु पर्‍यो । हैन, यो गतिको निरन्तरताबाट तोकिएको अवधिमा त चाहेको अवस्थामा पुग्न नसकिएला भन्ने लागेमा अब, गतिमा प्रवेग थप्नु पर्‍यो वा अवलम्बित मार्गै परिवर्तन गर्नु पर्‍यो । यहाँनेर यदि आवधिक लक्ष्य बमोजिमको आवधिक योजनाको कार्यान्वयन भएपछि उपलब्धिलाई मूल्याङ्कन गर्दा लक्ष्य समायोजन हुन सक्यो भने हामी व्यवहारिक योजना तर्जुमा गर्न सक्षम भएको प्रमाणित हुन जान्छ । यदि अपेक्षित अवस्थामा पुग्न अरू थप अवधि आवश्यक देखियो भने यसले या त लक्ष्य बढी महत्वाकांक्षी भएको सावित गर्छ अथवा लक्षित अवस्था प्राप्तिका लागि वर्तमान गतिमा परिवर्तन/प्रवेग थप गर्नुपर्ने सन्देश दिन्छ । फेरि कहिले काहीं, आशातित लक्ष्य तोकिएको अवधिअगावै प्राप्त हुन पनि सक्छ, यदि त्यस्तै भयो भने हामीले आफ्नो वर्तमानको खुबीको न्यूनानुमान गरी सानो/थोरै लक्ष्य राखेको ठहर्ने हुँदा आगामी आवधिक योजना तर्जुमाका बेला यसलाई पूवर्निवेश (Feedback) का रूपमा लिई सोही बमोजिमको लक्ष्य तय गरिनु उपयुक्त हुन्छ ।

यसरी आफ्ना सबल/दुर्बल पक्षहरू केलाई, अवसर र चुनौतिलाई मध्यनजर राखी, आफ्नो आवधिक योजना तर्जुमा गरी सोको कार्यान्वयन आत्मानुशासित ढङ्गले स्वयंले गर्दै जाने हो भने अन्ततः आफू गन्तव्यमा पुगी छाडिने र योजनाबद्ध रूपले अघि बढ्दाको अनुभव, अब परिवारमा पनि लागू गर्न सकिने हुनेछ । हुन पनि योजनाका विद्वान्ले भनेका छन् –
‘कार्यहीन लक्ष्य- रित्तो सपना हो, लक्ष्यहीन कार्य- समयको बर्वादी हो भने लक्ष्यसहितको कार्य भनौँ वा कार्यसहितको लक्ष्यले संसारै बदल्न सकिन्छ ।’

वास्तवमा राजधानी जाने लक्ष्य निर्धारण गरेर यात्रारम्भै गरिएन भने राजधानी पुग्ने रहर/लक्ष्य बिल्कुल रित्तो सपना सिवाय केही हुन सक्दैन । फेरि, मानौँ राजधानी जान पूर्वतिर हिँड्नुपर्छ तर यात्रा पश्चिमतर्फ अघि बढाइयो भने पनि राजधानी पुग्न सकिँदैन नै याने कहाँ, कताबाट, कसरी पुग्ने भन्ने लक्ष्यै निर्धारण नगरी हिँड्ने कार्यमात्र गरियो भने केवल बुढ्यौलीको उकालो चढ्नु सिवाय केही हुनेवाला देखिँदैन । तर, राजधानी जान पूर्वतिर लाग्नुपर्ने भन्ने निधो गरी बस/मोटरको बाटो, तिनमा नचढी पैदलै किन नहिँडियोस्, त्यही हो ! समयको धेरै खपत होला नै, तर एक न एकदिन राजधानी अवश्यै पुग्न सकिने हुन्छ ।

तसर्थ, पारिवारिक योजनाबद्ध विकासको इच्छा राख्ने हो भने आवधिक परिवार विकास योजना (आपवियो) तर्जुमा गरी लागू गर्नु उपयुक्त देखिन्छ । यसका लागि, उही आवधिक व्यक्ति विकास योजनामा जस्तै परिवारका सदस्यहरूको वा परिवारको वर्तमानावस्था अनि परिवारको ‘सदुअचु’को विश्लेषण गरी तोकिएको अवधिमा पारिवारिक स्थिति कस्तो बनाउने हो ? पारिवारिक मतैक्यताका आधारमा तय गरिएको परिलक्ष्यलाई मध्यनजर राखी, योजना तर्जुमा गर्नु पर्दछ । अब, सो लक्ष्य प्राप्तिका लागि उक्त तोकिएको अवधिमा के-के खुबी भएका, कुन-कुन सदस्यले, के-के गर्नुपर्ला ? भन्ने विषयमा आँकलन गरिनु पर्दछ । यस मानेमा, परिवारका हरेक सदस्यको वैयक्तिक आवधिक योजना परिवारको ‘आपवियो’ तयार पारेपछि सोही आधारमा तयार गर्नु युक्तियुक्त हुने देखिन्छ ।

यही तथ्यलाई मनन गर्दा राष्ट्रिय विकासको परिलक्ष्य निर्धारण भएपछिमात्र स्थानीय संभाव्यताका आधारमा प्रदेशहरूको परिलक्ष्य निर्धारण गर्ने, त्यसपछि बल्ल पालिकाहरूले आफ्नो आवश्यकता, औकात, संभाव्यतालाई मध्यनजर गरी प्रदेशको परिलक्ष्य प्राप्तार्थ आफ्ना परिलक्ष्य निर्धारण गरिनु उपयुक्त देखिन्छ । अझ, तृणमूल (Grassroot) तहमा नियाल्ने हो भने पालिकाको परिलक्ष्यको आधारमा वस्ति/वडाको अनि बस्ती/वडाको आधारमा परिवारको र परिवारको आधारमा व्यक्ति विशेषको परिलक्ष्य निर्धारण गर्ने हो भने विकासको लहरो अविच्छिन्नरूपको हुन सक्नेमा दुईमत गर्नुपर्ने देखिँदैन । तर, हामीकहाँ, प्रदेशको परिलक्ष्य निर्धारण नहुँदै पालिकाका गुरुयोजना/आवधिक योजनाहरू तर्जुमा भैरहेको सुन्नमा आएको छ । हुनलाई त, विहङ्गम दृष्टिबाट समूचा राष्ट्रलाई निश्चित अवधिपश्चात कहाँ पुर्‍याउनु पर्ला भन्ने बारेमा अन्तराष्ट्रिय परिवेशले पनि अछुतो छाडेको हुँदैन नै र, सोबारे दखल राख्न सक्ने व्यक्ति अन्ततः एक बस्तीको अझ भनौँ एक परिवारको एक सदस्य न हुन्छ । यो मानेमा व्यक्ति+व्यक्ति = परिवार, परिवार+परिवार = बस्ती/वडा, वडा+वडा = पालिका, पालिका+पालिका = प्रदेश, प्रदेश हुँदै राष्ट्र अनि अन्तर्राष्ट्र समेत निकाल्न/निस्कन सकिनुपर्छ । दिगो विकासका लक्ष्यहरू वास्तवमा यसैगरी तय गरिनु युक्तियुक्त हुने थियो ।

तर, अन्तर्राष्ट्रिय योजनाविद्हरूले सन् २०३० सम्म विश्वलाई कहाँ पुऱ्याउने भनी दिगो विकासका लक्ष्यहरू तय गरेका सन्दर्भमा अचेल हामीहरू तिनैको स्थानीयकरण गर्दै आवधिक पालिका विकास योजानामा होस् वा मध्यकालीन खर्च संरचनामा होस्, दिविल (दिगो विकास लक्ष्य) सङ्केतको उपयोग गरिआएका छौँ । जबकि हाम्रो सन्दर्भमा अज्ञान बहुलताका कारण हुनसक्छ, ग्रामीण वस्तिमा रहनेले पालिकाको परिलक्ष्य समेत आत्मसात् गर्न सकिरहेका छैनन् । यसको अर्को विडम्बना परिवारको लक्ष्यलाई नजरअन्दाज गरेर व्यक्तिगत योजना बनाउन छुट दिने हो भने त्यही परिवारकै सदस्यबीचमा स्वच्छन्दता प्रकटिन्छ र सदस्यको जोडफलबाट आपवियो नै अस्पष्ट (Vague) बन्न जान्छ । तसर्थ, पालिकाको आपावियो बनाउनु पहिले प्रदेशको परिलक्ष्य निर्धारण हुन आवश्यक देखिन्छ भने आपवियो आफ्ना पालिकाको आपावियो बमोजिम बनाइँदा अरू वस्तुगत हुन आउँछ । यस सवालमा, हाम्रो सम्बन्धमा लक्ष्य निर्धारण गर्न सहभागितात्मक विकास (Participatory Development) भन्दा निर्देशित विकास (Guided Development) को अवधारणा उपयुक्त हुने देखिन्छ । यो सन्दर्भ, परिवार र सदस्यमा पनि सदस्यहरूको आवधिक व्यक्ति विकास योजना पारिवारिक परिलक्ष्यद्वारा निर्देशित हुनु सान्दर्भिक हुन आउँछ ।

जे भएपनि वा जसरी भएपनि, लक्ष्यै निर्धारण नगरी कार्य गर्नुभन्दा कमसेकम आफ्नो परिवारकै मात्र सम्बन्धमा किन नहोस्, सम्पूर्ण सदस्यहरूको रायमा परादृष्टि/परिलक्ष्य निर्धारण गरी सो मुताविक कार्याग्रसर हुनुले पारिवारिक विकास, वर्तमानको तुलनामा, योजनाबद्ध हुन सक्ने भएकाले यस बारेमा सचेत परिवारहरूले बेलैमा सोच पुर्‍याउनु उपयुक्त हुनेछ । यसर्थ, योजनाबद्ध विकास गर्ने मनिषा राख्ने हो भने आवधिक विकास योजनाको वैयक्तिक एवं पारिवारिक महत्त्वलाई सबैले समयमै मनन गरौँ ।

‘सके सपारौँ, नसके नबिगारौँ’