नाउपा विवाद उत्कर्षमा : संसदीय दलको नेताबाट रन्जितालाई हटाइयो, गंगाराम चौधरीको चयन

नाउपा विवाद उत्कर्षमा : संसदीय दलको नेताबाट रन्जितालाई हटाइयो, गंगाराम चौधरीको चयन


नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको पछिल्लो घटनाक्रमले दर्शाएको छ । सो पार्टीको संसदीय दलको नेता हेरफेर गरिएपछि विवादले चर्कोरुप लिने सम्भावना बढाएको छ ।

आइतबार बसेको नाउपाको बहुमत सांसदहरू सम्मिलित बैठकले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाउने निर्णय गरेको छ । संसदीय दलको नयाँ नेतामा गंगाराम डगौरा चौधरीलाई चयन गरिएको जनाइएको छ । कैलालीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गंगाराम पार्टीको प्रमुख सचेतकको जिम्मेवारीमा थिए ।

सोही बैठकले प्रमुख सचेतकको लालविर चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बर्दिया २ बाट निर्वाचित सांसद लालविर नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका बुबा हुन् ।

बैठकको उक्त निर्णयमा गंगाराम, लालविर र अरुणकुमार चौधरीको हस्ताक्षर रहेको छ ।

ज्ञातव्य छ, पछिल्लो चरणमा नाउपाका संरक्षक रेशम चौधरी र उनकै पत्नी एवम् पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच विवाद चुलिएको छ । रन्जिताले प्रधानमन्त्री प्रचण्डको पक्षमा वकालत गर्दै आएकी छन् भने रेशम चौधरी नेपाली कांग्रेससँग गठबन्धन गरिनुपर्ने पक्षमा उभिएका छन् ।