विघटनको सङ्घारमा प्रचण्ड सरकार, ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने तयारीमा कांग्रेस-एमाले

विघटनको सङ्घारमा प्रचण्ड सरकार, ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने तयारीमा कांग्रेस-एमाले


कांग्रेस सभापति शेरबहदुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता बाक्लिएको भेटघाटको रहश्य अन्ततः दुई प्रमुख दलबीच भएको सत्ता-साझेदारीको सहमतिले छर्लङ्ग तुल्याएको छ । गुप्त तवरबाट ओली र देउवाबीच गठबन्धनको तयारी चलिरहेको अनुमान गरिएपनि यति चाँडै उनीहरू ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमतिमा पुग्न सक्लान् भन्ने अनुमान कसैले गरेका थिएनन् । तर, अप्रत्यासित ढङ्गले काङ्ग्रेस र एमाले सत्ता-साझेदार बन्ने तयारीमा तीव्रतम् गतिमा जुटेका छन् ।

निर्वाचनपछिको दुई वर्ष नबित्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट पालैपालो धोका पाएर रन्थनिएका काङ्ग्रेस र एमालेका शीर्ष नेतृत्व पछिल्ला दिनमा अझ बढेर गएको प्रधानमन्त्री प्रचण्डको ‘चुरीफुरी’ चक्नाचुर पार्न भित्रभित्रै उद्यत् थिए । माओवादीलगायत तेस्रा-चौथा तहका दलहरूको अप्राकृतिक दबदबाले देउवा र ओलीलाई सत्ता-साझेदारीका लागि जबर्जस्त उत्प्रेरित गरिरहेको बुझ्न नसकिने विषय थिएन । यसैको उत्कर्ष अन्ततः ‘सत्ता-गठबन्धन फेरबदलको सहमति’का रूपमा प्रकट भएको छ ।

सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने भन्दै केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यरातको समयमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यसबारे राष्ट्रपति रामचन्द्र पौडेललाई समेत राति नै जानकारी गराइएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने डेढ वर्षपछि कांग्रेस सभापति देउवाले निर्वाचन गराउने जिम्मेवारीसहितको सरकारलाई नेतृत्व दिनेछन् ।

यसरी पालैपालो कांग्रेस र एमालेलाई झुक्याउँदै सत्तामा निरन्तर जमिरहेका प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

यसैबीच एमालेका मन्त्रीहरूले सामुहिक राजीनामा दिएर सरकारबाट बाहिरिने निर्णग गरेका छन् । यसैक्रममा माओवादी केन्द्रले पछिल्लो घटनाक्रमबारे छलफल गरी निर्णय लिन पार्टीको पदाधिकारी बैठक डाकेको छ भने रास्वपाले पनि सचिवालय बैठक बोलाएको छ ।

file photo