नराम्रोसँग झुक्किनुभयो प्रचण्ड !

नराम्रोसँग झुक्किनुभयो प्रचण्ड !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

असार १८ गते मंगलबार बिहान सूर्याेदय नहुँदै आएको खबरले प्रधानमन्त्री प्रचण्डलाई मुटु चस्कने गरी झस्कायो । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच आरजु राणालाई साक्षी राखेर भएको संवादले सत्ता समिकरण बदल्ने सन्देश हावासरी फैलाएको थियो । उक्त हल्ला सुनेपछि प्रचण्डले असार १७ गते सोमबार बालुवाटारमै केपी ओलीलाई बोलाएर करिव साढे तीन घण्टा लामो छलफल गरे ।

छलफलमा केपी ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै सुध्रिनुपर्ने धारणा राख्नुभएको थियो । प्रचण्डले आफ्ना गल्ती तथा कमजोरी सच्याएर अब सल्लाह गरेरमात्र अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो । प्रचण्डले ‘हाम्रा असमझदारीकै कारण सत्ता समिकरण बदल्नु पर्दैन, म प्रधानमन्त्री छोड्न तयार छु, तपाईं प्रधानमन्त्री बन्नुहोस्’ भनेर केपीलाई फकाउने काम भयो र केपीले पनि आफू फकिएको जस्तो स्वाङ पार्नु भयो । अब नेपाली काङ्ग्रेसलाई पनि साथसाथै लिएर जाने, सरकारका काम कारवाही प्रभावकारी बनाउने भन्दै दुवै नेता सहमतिमा पुगेर बैठक सकिएको थियो । यही सरकारालाई निरन्तरता दिने, नेपाली काङ्ग्रेसलाई पनि स्पेस दिएर अघि बढ्ने र सरकारलाई अझै प्रभावकारी बनाउनेजस्ता तीन बुँदामा उहाँहरू सहमत हुनुभएको थियो ।

त्यसपछि सत्ता समिकरणले निरन्तरता पाउने भयो भनेर प्रचण्ड ढुक्क हुनुभयो । उहाँले माओवादी केन्द्रका नेताहरुलाई यो कुराको सेयर पनि गर्नुभएको थियो । सरकार बचाउने ‘सफलता’ हासिल गरेको खुसीयालीमा प्रचण्ड ढुक्क भएर निदाउनुभयो तर बिहान साढे ४ बजे उठ्दा सत्ता समिकरण बदलिसकेको थियो । आफूलाई राजनीतिको ठूलो खेलाडी ठान्ने प्रचण्ड यसपटक केपीबाट नराम्रोसँग झुक्किनु भयो । घटनाले प्रचण्डभन्दा केपी ठूला खेलाडी भएको पुष्टि भएको छ ।

केही दिनअघि प्रचण्डले यो सत्ता समिकरण पाँच वर्ष नै टिक्छ र आफू प्रधानमन्त्री भइरहने विश्वास सार्वजनिक गर्नुभएको थियो । उहाँले म हुञ्जेल देशमा उथलपुथल भइरहन्छ भन्ने घोषणा पनि गर्नुभएको थियो । यसपटक उथलपुथलका शिकार प्रचण्ड आफैं हुनु परेको छ ।