‘नेपाल यात्रा’ कला प्रदर्शनीको आठौं संस्करण गत ३० जुन का दिन बेलायतको रेडिङमा सम्पन्न भएको छ ।
२९(३० जुनमा ‘द रोजिएट होटल’मा आयोजित प्रदर्शनीमा कलाकार पी. सिंहका विभिन्न मनमोहक ऐक्रेलिक पेन्टिङहरू प्रस्तुत गरिएको थियो, जसले नेपालको प्राकृतिक दृश्य, समृद्ध संस्कृति, सम्पदा लगायत वन्यजन्तुको कलात्मक रूपमा चित्रण गरेको थियो ।
यसअघि बेलायत, कतार र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवर्द्धन गर्न प्रतिबद्ध छन् ।
आफ्नो उत्साह व्यक्त गर्दै, कलाकार सिंहले भने, ‘हेल्भेट आर्ट प्रर्दशनीमा मेरा कलाकृतिहरूमार्फत नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । दुईदिने प्रदर्शनीमा सयौं कलाप्रेमी आगन्तुकहरूलाई नेपाली कला, संस्कृति, र प्राकृतिक दृश्यहरू देखाउन पाउनु वास्तवमै रोमाञ्चक थियो ।’ उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियामाथि टिप्पणी गरे ।
लन्डनको SMBC बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा चित्रहरु कोर्छन् ।
‘हेल्भेट आर्ट प्रर्दशनीले धेरै देशका कलाकारहरूको प्रदर्शनी गरिसकेको छ, र हामी नेपालका कलाकृतिहरू प्रदर्शन गर्न पाउँदा निकै रोमाञ्चित भयौं’, हेल्भेट आर्ट प्रर्दशनीका संयोजक इना वार्सले भनिन् ।
नेपालको सांस्कृतिक सम्पदा र पर्वतहरू झल्काएका कलाकृतिहरूको प्रर्दशनीमा आएका कलाप्रेमी आगन्तुकहरूले सराहना गरे । साथमा, यि कलाकृतिहरूले सहकर्मी कलाकारहरूको ध्यान पनि उत्तिकै खिचे । ‘यहाँ सहभागी कलाकारको रूपमा म नेपाली कलाकृतिहरू देखेर निकै खुशी छु जसले मलाई मेरो युवाकालमा नेपालमा गरेको पदयात्राका सम्झनाहरू फर्काइदियो’, ब्रिटिश कलाकार जोनाथन क्रफोर्डले भने ।
प्रतिक्रिया