प्रधानमन्त्रीको राजीनामा नआएपछि सरकारबाट बाहिरियो एमाले

प्रधानमन्त्रीको राजीनामा नआएपछि सरकारबाट बाहिरियो एमाले


नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री प्रचण्डनेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गरेका सबै अर्थात् आठ जना मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषदमा रहेका आफ्ना मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए ।

मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । उक्त अवधिमा प्रधानमन्त्रीले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीले बुधबार अपराह्न सामूहिक राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।

यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए ।

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले) का तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, अध्यक्ष तथा संसदीय दलका नेता ओलीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

photo: rss