भुवन नखेल्ने, छोरालाई खेलाउने

भुवन नखेल्ने, छोरालाई खेलाउने


आफूले निर्माण गरेको पछिल्लो चलचित्र ‘साथी म तिम्रो’ले आशा गरेजस्तो व्यापार नगरेपछि यतिबेला भुवन रनभुल्लमा परेका छन् । उनी सोच्न थालेका छन् कि साथी म तिम्रो किन चलेन ? त्यसो त साथी म तिम्रो नचलेको भने होइन । ‘किनभने यो फिल्मबाट धेरै ठूलो आशा गरिएको थियो तर ती आशाहरू पूरा नभएपछि त्यस्तो लागेकोमात्र हो । यद्यपि घाटा भने व्यावसायिक रूपमा छैन,’ भुवन भन्छन् ।
भुवनले भनेका कुराहरू पनि सही नै हुन् किनभने भुवनसँगै भिड्न आएका सिनेमाहरूले भने पानी पनि पिउन पाएका थिएनन् । तर, भुवन भने त्यो माहोलबाट माथि नै छन् । तर, यतिले मात्र पुगेन भुवन केसीलाई । उनी थप्छन्, ‘धेरै आशा गरेपछि गाह्रो हुँदोरहेछ । आशा ठूलो गरियो ।’ आफ्नो सिनेमालाई दर्शकहरूले रामै्र साथ दिए तापनि अन्य सिनेमाहरूको हालत देख्दा भने उनको मन दुखेको छ रे । उनी भन्छन्, ‘म त उकासिएँ तर अन्य सिनेमाहरूको विजोग देखेँ मैले । त्यत्रो लगानी चुर्लुम्म डुब्दा त मरिहालिन्छ नि ।’
अब आफूले बनाउने चलचित्रमा भुवन नखेल्ने भएका छन् । यसबारे थप जानकारी दिँदै उनले भने, ‘मेरो आगामी प्रोजेक्टमा म निर्देशक मात्र हुनेछु । अनि हिरो भने मेरो छोरो अनमोल केसी हुनेछ ।’ त्यसो त चलचित्र साथी म तिम्रोमा एउटा गीतमा मात्र आफूले अनमोललाई राखेकोमा धेरैको प्रतिक्रिया आएको रहेछ भुवनलाई ‘अनमोलको सिन धेरै राख्नुपर्ने थियो कम भयो भनेर ‘टिनएजर्स’ दर्शकहरूले धेरै भने ।
आगामी प्रोजेक्टमा यो कुरालाई समेट्ने प्रतिबद्धता मैले व्यक्त गरेको छु,’ भुवनले भने । उनले आगामी दिनमा नयाँ सोच, विषय र अनुहारलाई समेट्ने निधो
गरेका रहेछन् । ‘अब अभिनेता मात्र होइन कि चरित्र अभिनेता पनि नयाँ राख्नुपर्ने रहेछ,’ उनले भने ।

‘रेखा दिदी’को पछिपछि विनिता
यतिबेलाकी नेपाली सिनेमाकी नम्बर वन नायिका हुन् रेखा थापा । आफ्ना हरेक क्रियाकलापलाई समाचार बनाउन सफल रेखाले निर्माण गरेको पछिल्लो चलचित्र हो रावण । आफ्नो सिनेमाको प्रचारप्रसारका लागि निकै धौडधुपमा लागेकी रेखा जहाँजहाँ जान्छिन् त्यहाँत्यहाँ एउटी युवती पनि पुग्ने गर्छिन् । प्रायः कार्यक्रमतिर रेखासँगै बस्ने र रेखालाई ‘दिदी’ भनेर सम्बोधन गर्ने गर्छिन् उनी । तपाईंहरूलाई कुतूहल लाग्न सक्छ कि तिनी को हुन् ? यसरी रेखासँगै हिँड्ने अनि मायालु भावले रेखालाई ‘दिदी’ भनेर सम्बोधन गर्ने ती युवती अरू कोही नभएर चलचित्र ‘चपलीहाइट’बाट एक्कासि हाइट बढाएकी नायिका विनिता बराल हुन् ।
फेसन शोमार्फत ¥याप र म्युजिक भिडियोमा सीमित रहेकी विनिताको यतिबेला मुलुकमा मात्र होइन मुलुकबाहिर रहेका नेपालीमाझ पनि चर्चा छ । त्यसमाथि ‘नम्बर वान’ नायिका रेखा थापाले अब अरू कोही होइन विनिता नै नम्बर वन हुन् भनिदिएपछि त विनिता निकै हौसिएकी छिन् । रेखाले कुनै पूर्वाग्रहबिना र प्रोत्साहनस्वरूप सार्वजनिक कार्यक्रममा नै विनिताको बखान गरिदिएकी छिन्, ‘विनिताले गरेजस्तो अभिनय त म पनि गर्न सक्दिनँ । गजबकी कलाकार हुन् यिनी ।’ रेखाको यो भनाइ सार्वजनिक भएपछि मिडियामा विनिता झनै छाइन् । त्यसो त राम्रो कामको प्रशंसा गर्न जान्नुपर्छ र कञ्चुस गर्नुहुन्न भन्ने गतिलो उदाहरण पनि रेखाले प्रस्तुत गरिदिइन् ।
आफ्नाबारे यसरी खुलेर प्रशंसा गर्ने रेखाको फिल्म चल्ने समयमा प्रमोशनका लागि किन सहयोग नगर्ने त ? सायद यस्तै लागेर होला विनिता पनि ‘रेखा दिदी’को फिल्मलाई सहयोग गर्नुपर्छ भन्दै हिँड्न थालेकी छिन् । एउटी नायिकाले अर्कोको कुरा काट्ने, खुट्टा तान्ने अनि इष्र्या गर्ने यो भीडमा अरूले पनि रेखा र विनिताबाट सिक्ने कि ?