ओली नेतृत्वमा बन्ने सरकारमा माओवादीका सांसद सहभागी हुने एमाले नेताको दाबी

ओली नेतृत्वमा बन्ने सरकारमा माओवादीका सांसद सहभागी हुने एमाले नेताको दाबी


एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले एमाले-काङ्ग्रेसको गठबन्धनमा बन्ने सरकारमा माओवादीका सांसदहरू सहभागी हुने दाबी गरेका छन् । उनले प्रचण्ड नेतृत्वको माओवादी अब विभाजित हुनसक्ने संकेत पनि गरे ।

‘उहाँ (प्रचण्ड) सम्मिलित हुनुभएन भने उहाँका अरू सम्मिलित हुनेछन् । उहाँकै दलबाट सम्मिलित हुनेछन् । हेर्दै जानुहोला- यो दिन पनि आउनेछ’- नेता तामाङको जिकर छ ।

उनले हरेक १० वर्षमा संविधानका कतिपय कुरा पूनरावलोकन गर्नुपर्ने स्थिति बन्ने बताए । यस्तो प्रकारको प्रयोग अरू देशहरुमा पनि रहेको उनको भनाइ छ । उनले नेपालमा पनि संविधानको केही ‘इस्यु’मा प्रश्न उठेको दाबी गर्दै संविधान संशोधनका लागि काङ्ग्रेस र एमालेबीच सहकार्य हुन लागेको स्पष्ट पारे ।

साथै, उनले आफूहरुले एमाले-काङ्ग्रेसमात्रै मिलेर सरकार बनाउने पनि नभनेको बताए । एमाले-कांग्रेसले अन्य दलहरुलाई पनि सरकारमा सहभागी हुन आह्वान गरेको बताए । ‘हामीले एमाले-काङ्ग्रेसको मात्रै सरकार भनेका पनि छैनौं । राष्ट्रिय सरकारको अवधारणा बनाएका छौं । दुईवटै दलका निर्णयहरुले आह्वान गरेका छौं’- उनले भने ।

नेता तामाङले अहिलेसम्म शान्ति प्रक्रियाका काम टुङ्ग्याउन नसकेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार आवश्यक परेको बताए । निर्वाचन प्रणालीका कारण पनि भ्रष्टाचार बढिरहेकाले त्यसको समाधान खोज्न पनि यो सरकार बनाएर रि-थिङ्क गर्न खोजिएको राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले बताए ।

file photo