नयाँ सरकार गठन प्रक्रिया लम्बिँदा चुलियो भावी गृहमन्त्रीको चर्चा

नयाँ सरकार गठन प्रक्रिया लम्बिँदा चुलियो भावी गृहमन्त्रीको चर्चा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाली काङ्ग्रेस र नेकपा एमालेको भावी गठबन्धन-सरकारमा गृहमन्त्रीमा सम्भावित नामबारे चर्चा सुरु भएको छ । नयाँ सरकारमा नेपाली काङ्ग्रेसले गृहमन्त्रालय लिने सम्भावना प्रवल छ ।

गृहमन्त्रालय काङ्ग्रेसले लिने सम्भावनासँगै विभिन्न नामलाई लिएर अड्कलबाजी सुरु भएका छन् । यसमा सबभन्दा अगाडि रमेश लेखकको नाम चर्चामा छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाका अत्यन्त विश्वासपात्र एवं काङ्ग्रेस–एमाले द्विपक्षीय गुप्त वार्ताका क्रममा विशेष भूमिका निर्वाह गर्नुहुने लेखकको नाम भावी गृहमन्त्रीका रूपमा अग्रचर्चामा छ । काङ्ग्रेसकै कतिपय नेताहरू पनि लेखक गृहमन्त्री हुँदा देउवापत्नी आरजु पनि ढुक्क हुने टिप्पणी गर्छन् ।

कुनै कारणवश लेखकले गृहमन्त्रालयको जिम्मेवारी नपाउने अवस्था आएमा कृष्णप्रसाद सिटौलालाई गृहमन्त्री बनाउने सम्भावना देखिएको छ । राष्ट्रियसभा अध्यक्ष बन्ने निर्णय भइसक्दा पनि माओवादी केन्द्रले धोका दिएका कारण सिटौला राष्ट्रियसभा अध्यक्ष बन्न सकेका थिएनन् । काङ्ग्रेस सभापति देउवाले त्यसको क्षतिपूर्तिस्वरुप सिटौलालाई गृहमन्त्रालयको जिम्मेवारी दिने सम्भावना देखिएको छ ।

लेखक र सिटौलापछि एनपी साउदको नाम चर्चामा छ । त्यसैगरी पूर्व उपप्रधानमन्त्री तथा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्काको नाम पनि सम्भावित गृहमन्त्रीको रूपमा चर्चामा छ ।