अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने


नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।

परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्नेछ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्ने उनको भनाइ छ ।

जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल आफ्नो पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि रास्वपा मन्त्रीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामापत्र बुझाउन पुग्नुभएका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उनलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

रास्वपाबाट वर्तमान सरकारमा पार्टीका सभापति रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री तथा सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन् ।