प्रेम आले भन्छन्- ‘नेकपा एस र यसको नेतृत्व पिँध नभएको लोटा’

प्रेम आले भन्छन्- ‘नेकपा एस र यसको नेतृत्व पिँध नभएको लोटा’


नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै इच्छा नभएको बताएका छन् ।

नेकपा एसको दशौँ महाधिवेशनले शुक्रबार (२१ असार) ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम नपरेको भन्ने प्रचार भएपछि उनले आफू पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न इच्छुक नरहेको प्रतिक्रिया दिँदै भने, ‘मलाई केन्द्रीय कमिटीको सदस्य बन्न मन थिएन, त्यसैले वास्ता गरिनँ ।’

उनले कुनै पनि हैसियत नभएको पार्टीको केन्द्रीय सदस्य होइन पदाधिकारी नै दिएपनि आफुलाई स्वीकार्य नभएको बताए । उनले भने, ‘म डोटेली जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ । जनताका लागि स्वतन्त्र रुपमा काम गर्ने हो, पदले के चाट्ने हो र ?’

नेकपा (एकीकृत समाजवादी) पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको उनको आरोप छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफुलाई रुचि नभएको पनि उनले बताए ।

नेकपा एस पार्टी नेतृत्वको कार्यशैलीप्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आएका छन् । यतिबेला आफू घरायसी कामले मुलुकबाहिर रहेको उनले जानकारी दिए ।