सहमति अनुमोदनका लागि कांग्रेस संसदीय दलको बैठक बस्दै

सहमति अनुमोदनका लागि कांग्रेस संसदीय दलको बैठक बस्दै


नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।

यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराउनुभएको छ ।

यसै क्रममा अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रचण्ड-सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टीबाट सङ्घीय सरकारमा नवलकिशोर साह सुडी वन मन्त्री, प्रदीप यादव स्वास्थ्य मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।