‘राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा’

‘राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा’


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गरेका छन् । काठमाडौंमा शनिबार आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक कार्यक्रममा उनले सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनीतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा परेको बताए ।

सहकारीको समस्या समाधानमा जनता र राजनीतिक दलले दबाब सिर्जना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरिब जनताले छाक काटेर जोगाएको पैसा केही सीमित टाठाबाठाले हिनामिना गरेका जिकिर गरे ।

सो अवसरमा राष्ट्रिय जनमोर्चाद्वारा प्रस्तुत कार्यपत्रमा सहकारीको जन्म पुँजीवादी शोषण र पिछडिएका मुलुकमा सामन्तवादी शोषण तथा साहुकारी प्रथाविरुद्ध भएको उल्लेख छ । सहकारीको मुख्य उद्देश्य मजदुर, किसान, समाजमा दबिएका, उपेक्षित र किनारामा पारिएका वर्गको आर्थिक रुपले पक्षपोषण गर्नु रहेको समेत उल्लेख गरेको छ ।

त्यस अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याकारुपमा देखापरेको उल्लेख गर्दै भने, ‘लाखौँ नागरिकको अर्बाै रकम हजारौ सहकारीमा जम्मा गरेका छन् । उनीहरुको बचत अपचलन, दुरुपयोग, हिनामिना र ठगी भएको छ । केही सहकारीले बचत फिर्ता गर्न सकेका छैनन् भने केहीमा बचतको सुरक्षामै प्रश्न उठेको छ ।’

केही सहकारीको समस्याका कारण सम्पूर्ण सहकारीमा रहेको बचत रकम सुरक्षाबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो । उनले सार्वजनिक र राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको संलग्नता सहकारीको बचत अपचलनमा देखिनु चिन्ताको विषय भएको टिप्पणी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वस्तु उत्पादन गरी निर्यात गर्नुपर्नेमा शेयर लगानी गर्ने, मुनाफा कमाउने तथा ब्याज खानेमा सहकारी आन्दोलन सीमित भएको औंल्याए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा. भिमबहादुर रावलले सहकारीको रकम अपचलन र ठगी गर्ने व्यक्तिविरुद्ध निर्धक्क आवाज उठाउनुपर्ने सुझाव दिए ।

नेपालका सहकारी समस्याबारे जानकार काशीराज दाहालले सहकारी समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन हुनुपर्ने धारणा राखे ।