केपीविरुद्ध मेयर बालेनको निरन्तर आक्रोश किन ?

केपीविरुद्ध मेयर बालेनको निरन्तर आक्रोश किन ?


  • सुरेन्द्र सुवेदी, काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिनेक्रमलाई निरन्तरता दिइरहेका छन् । कहिले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा त कहिले काठमाडौंमा सुकुम्बासी बस्ती उठाउन नपाएको विषयमा मेयर साह फेसबुकमार्फत एमाले अध्यक्ष ओलीविरुद्ध खनिँदै आएको देखिन्छ ।

बालेनले शुक्रबारदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगरभित्रका बस्ती डुबानमा पर्ने, खोला कीनारका सुकुम्बासी बस्तीमा खोलो बग्नेक्रम बढेपछि बालेनले आक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका हुन् ।

उनले लेखे, ‘माननीय केपी ओली ज्यू, आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हुने हो ?

मेयर बालेन अगाडि लेख्छन्, ‘अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरुको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधै गरिरहने हो ? उहाँहरुलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरुलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्काे ३० वर्ष पनि झुलाउने सोच बनाउनुभएको छ ?’

उनले गिरीबन्धु टी स्टेटको जग्गा साटोफेर गर्न भन्दै कमसलका जग्गा लिएर झापाको मुटु बिर्तामोडको जग्गा दिने पक्षमा उभिएका एमाले अध्यक्ष ओलीमाथि थप खनिँदै लेखेका छन्, ‘काठमाडौंमा लगभग २ हजार परिवार खोलाछेउमा बस्ने गरेका छन् । तपाईंले पचाउन खोज्नु भएको गिरीबन्धुमा यस्ता १५ हाजर परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’

बालेनले विगत ३० वर्षदेखि सुकुम्बासीको भोटको राजनीति गरेको र अब पनि ३० वर्ष भुलाउने भन्दै सुकुम्बासी समस्या समाधानमा राजनीतिक दलबाट साथ नपाएको प्रष्ट पारेका छन् । उनले एमाले अध्यक्ष ओलीमाथि कटाक्ष गर्दै आएपनि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, मधेशवादी दल, राजावादी दलहरुप्रति भने सामाजिक सञ्जालमा केही उल्लेख गरेका छैनन् ।

स्वभावतः एमालेप्रति आस्था राख्ने सुकुम्बासीको सङ्ख्या धेरै छ । त्यो संख्याको मतलाई नै आधार बनाएर मेयर बालेनले सुकुम्बासीहरूलाई हटाउन खोज्दा त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले बोलेका कारण बालेन ओलीप्रति खनिएको बुझिएको छ ।