जापानका पूर्वप्रधानमन्त्री आबेको दोस्रो वार्षिकी

जापानका पूर्वप्रधानमन्त्री आबेको दोस्रो वार्षिकी


  • विशेष प्रतिनिधि, जापान

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको २ वर्ष पुरा भएको छ । आबेको सन् २०२२ मा आजकै दिन (जुलाई ८)मा चुनावीसभामा सम्बोधनका क्रममा हत्या भएको थियो ।

जापानको नारा शहरमा आयोजित एक चुनावी कार्यक्रममा भाषण गरिरहेका आबेमाथि ४२ वर्षीय तेत्सुया यामागामीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

गोली प्रहार भएलगत्तै पूर्वप्रधानमन्त्री आबे भुइँमा ढलेका थिए । उनको छातीमा आधा दर्जन गोली लागेको थियो । घटनास्थलमा प्राथमिक उपचारपछि आबेलाई एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो । त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइए पनि उनको उपचारका क्रममा सोही दिन अस्पतालमा मृत्यु भएको थियो ।

१९५४ सेप्टेम्बर २१ मा जन्मिएका आबे १९९३ मा पहिलो पटक सांसद बनेका थिए । २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्का सदस्य बने । अर्को वर्ष ५१ वर्षको उमेरमा उनी प्रधानमन्त्री बन्न सफल भएका थिए ।

आबे २००६ देखि २००७ र २०१२ देखि २०२० सम्म गरी नौ वर्ष जापानको प्रधानमन्त्री थिए । उनी दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री हुन् ।

आबे आफ्नो शासनकालमा अवलम्बन गरेको ‘आबेनोमिक्स’ अर्थनीतिका कारण चर्चित र लोकप्रिय छन् ।

आबेको हत्या अभियुक्तले आबेले विवादास्पद दक्षिण कोरियाली युनिफिकेसन चर्चसँग आवद्व रहेका कारण हत्या गरेको बताएको समाचारहरुमा उल्लेख छ ।

तेत्सुयामाथि हत्या अभियोगको मुद्दा अदालतमा चलिरहेको छ ।

उक्त चर्चले अबैध रुपमा चन्दा दिन वाध्य पारेर आफ्नो परिवारको आर्थिक अवस्था धराशायी बनाएको तेत्सुयाको आरोप छ ।