माधव नेपालले सत्ता ‘निल्छन्’ कि ‘ओकल्छन्’?

माधव नेपालले सत्ता ‘निल्छन्’ कि ‘ओकल्छन्’?


सत्तामा रहेर झण्डा हल्लाउँदै पार्टी-महाधिवेशनमा होमिएका माधवकुमार नेपालको ‘नेकपा एस’ नामक दल महाधिवेशन सक्दा सडकमा पुगिसकेको छ । नेपाली काङ्ग्रेस-एमालेबीच भएको सत्ता-साझेदारीमा संविधान संशोधनसहितका कार्यक्रम राखिएको राजनीतिक कार्यसूची निर्माण भएपछि माधव नेपाललाई फेरि सत्ता ‘खाउँ भने दिनभरको शिकार नखाउँ भने कान्छाबाउको अनुहार’ जस्तो भएको छ । यस्तोमा माधवकुमार नेपालले फेरि सत्ता ‘निल्छन् कि ओकल्छन् ?’ सत्ता-राजनीतिमा यो एउटा प्रश्न पुनः उठेको छ ।

महाधिवेशन भनिए पनि कुनै पनि राजनीतिक, साङ्गठानिक र वैचारिक दृष्टिकोण दिन सकेन । नेतृत्वमा पुग्न मात्र रक्साकस्सी भएपछि ‘सर्वसम्मति गर्ने’ भन्दै अधिवेशनको अन्त्य भएको भनियो । खासमा त्यो दिशानिर्देशविहीन ‘भीड/हुलको जात्रा’मा परिणत भइदियो । त्यस्तो हुनु स्वभाविकै थियो । दृष्टिकोण, नीति, कार्यक्रम, सिद्धान्त र वैचारिक आधारबिना खुलेका कुनै पनि समूहको हालत त्यस्तै नै हुन्छ । रवि लामिछानेको स्वतन्त्र पार्टीको पनि त्यही हालत हुने हो । जसरी विवेकशील साझा पार्टीको भयो ।

मुलुकमा संवैधानिक र राजनीतिक जटिलता थपिएको कारण संसदमा रहेका मूलतः लोकतन्त्रप्रति सङ्घर्षको इतिहास र अपनत्व भएका राजनीतिक दलहरू लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको लागि मिल्नुपर्ने अवस्था आइसकेको थियो । राजनीतिक र कार्यक्रमिक विषयमा एक भएर अघि बढ्नुपर्नेमा उल्टो माधवकुमार नेपालले भएको कम्युनिष्ट पार्टी विभाजन गरेर ‘ठूलो भाग खान’ गएका थिए । ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेजस्तो भयो माधवलाई । आफू सत्ता तथा शक्तिमा कसरी पुग्ने भन्नेमात्र चिन्तन नेता नेपालमा भएको कारण उनको महाधिवेशन पनि ‘हात्ती आयो फुस्सा’ भनेजस्तो भयो । केही दिनको हल्लाखल्ला भयो, सकियो । केन्द्रीय सदस्य भएको भन्दै फेसबुकमा फोटो हालौँला, बधाई थापौँला भन्ने केही दर्जन आकाङ्क्षी ‘हिस्स’ परे । महाधिवेशनले माधवको पार्टी चौरासी सालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने आधारभूत कुरा प्रस्ट पार्दै नटिक्ने पक्का देखियो । किसान श्रेष्ठ, प्रेम आलेहरूको ‘हुङ्कार’ आइसक्यो ।

नेता नेपालको समाजवादीले महाधिवेशन गरिसक्दा पनि राजनीतिक वैचारिक दृष्टिकोण प्रस्ट पार्न सकेन । एमालेले लिएको जनताको बहुदलीय जनवादमा छलफल भए पनि खासै कुनै प्रस्ट दिशा लिन सकेन । एमालेभन्दा किन फरक, अलग दल हुनुपऱ्यो ? कुन राजनीतिक-वैचारिक आधार फरक हो ? भन्ने केही पनि निचोड निकाल्न सकेन । सक्ने आधार नै थिएन । आफूलाई सर्वसम्मत्तरूपमा अध्यक्ष पद दिनुपर्ने भन्ने नेता झलनाथ खनाल ‘सम्मानित नेता’मै थन्किए । खासमा माधव कुमारले टीका लगाएकाहरूको भेला थियो । माधवको इसारामा चले । माधवलाई उनैले फेरि ‘प्रतिटीका’ लगाइदिए । कुनै नौलो कुरा भएन । अब ‘सम्मानित नेता’ खनाल एमालेमा छिर्ने हुन् वा उही पहिले जस्तै माधवले तयार पारेको ‘कार्यसूचीमा ल्याप्चे ठोक्दै’ कथित ‘सम्मानित नेता’को पगरी गुथेर बस्छन् ? त्यो हेर्न बाँकी छ । माधवकोमा ‘ठूलो भाग’ खोज्न गएका धेरैजना ‘चिवेचराहरू’ फेरि जिल्ल परेका छन् ।

महाधिवेशनकै बीचमा सत्ता, सरकार र समीकरणमा ‘उथलपुथल’ भएपछि माधव नेपाल ‘चौबाटोमा बाटो भुलेर सहारा खोजिरहेको यात्री’को अवस्थामा पुगेका छन् । कम्युनिष्ट एकता गर्ने भनेर ‘समाजवादी केन्द्र’ समूह बनाएर दुई-चार वटा भाषण गरेका माधवको त्यो ‘फोरम’ पनि त्यसै तुहिएको छ । २०४९ सालदेखि २०६४ सालसम्म एमालेका महासचिव रहिसकेका नेपाल अहिले भने ‘सानो नाङ्ले पसल थापेर रत्नपार्कको पुलमुनि प्लाष्टिक थापेर बसेजस्तो’ अवस्थामा पुगेका छन् । २०६५ सालेखि २०६७ सालसम्म देशको ३४औँ प्रधानमन्त्री भइसकेका नेता नेपाल अहिले एमालेले आफूलाई सत्तामा बोलाउला वा नबोलाउला भनेर ओलीको फोन कुर्ने अवस्थामा पुगे । मन्त्री दिउँला भन्दै ‘थुमथुमाइएका’ प्रेम आले, किसान श्रेष्ठ जस्ता पदलोलुपहरूलाई अब के दिने हो भन्ने चिन्ता नेता नेपाललाई भइसकेको छ । पार्टीको महाधिवेशन सम्पन्न भइसक्दा समाजवादीमा कुनै उर्जा र उत्साह देखिँदैन । मान्छेहरू ‘हारेको न्याउरो मुख लगाएर’ घर फर्केका छन् ।

राष्ट्रिय राजनीति र कार्यकर्ताहरूमा त्यसले तात्विक केही फरक पार्नै सकेन । ‘आफू केन्द्रीय सदस्यमा विजयी भएँ’ भन्दै फेसबुकमा प्रचार गर्नु नै उनीहरूको महाधिवेशनको ‘महान उपलब्धि’ हुन्थ्यो । त्यो पनि गर्न पाएनन् । समाजवादीमा भाग नपाएकाहरू एमालेतर्फ नजिक हुन थालिसकेका छन् । महाधिवेशनपछि एमालेसँग मिलौँला भन्ने सोच पालेर बसेका केही नेता एमालेले काङ्ग्रेससँग सत्ता समीकरण गरेपछि फेरि पनि एक-दुई मन्त्री दिए हुन्थ्यो भन्ने अवस्था पुगेका छन् ।

पहिले ओलीले आफूलाई ‘भ्यालु’ नदिएको भन्दै पार्टीबाट अलग भएका माधव नेपाल प्रचण्डको सरकारमा पनि त्यही गुनासो गर्दै ‘रोइरहे’ । अहिले फेरि नेपाली काङ्ग्रेस-एमालेबीचमा संवैधानिक र राजनीतिक कार्यदिशामा साझा मुद्दामा सँगै जाने भन्दै समझदारी भएपछि आफू झन् ‘अपमानित’ हुने त्रासबाट ‘अनिँदो’ बन्न थालेका छन् । सत्ता, शक्ति, टीके पद र पैसाबाट मात्र प्रेरित माधवकुमार नेपालको पार्टीलाई अहिलेको सत्ता समीकरण ‘निल्नु कि ओकल्नु’ जस्तो भएको छ । सत्ता, पद र राजनीतिक हैसियत दिइएन भने एक मिनेट पनि समाजवादीमा मानिस टिक्ने अवस्था छैन । बरु एमालेमा सानो पद वा सदस्य मात्र भएर पनि इज्जत बढी हुन्छ भन्ने सोच माधवका सबैजसो नेता-कार्यकर्तामा भएको देखिन्छ । एकातर्फ जुनसुकै पेशा, व्यवसाय र क्षेत्रमा भए पनि कुनै पनि राजनीतिक दलको एउटा पदमा चाहिँ बस्नैपर्ने ‘मनोविज्ञान’ यसबीचमा किन बढ्यो ? कसले बढायो ?

अर्काेतर्फ मुलुकको संवैधानिक, राजनीतिक प्रणालीप्रति नागरिकको अविश्वास तथा वितृष्णा भने बढ्दै गएको छ । त्यस्तो कृत्रिम अवस्था निर्माण गर्नमा धेरै समूह लागेका छन् । ‘लोकतन्त्र खतम भयो’ भन्ने ‘गीत’ गाएर त्यही ‘आगोमा रोटी सेकाएर खाने खन्चुवाहरू’ बढिरहेका छन् । तिनको ‘रोटी’ पाक्नेवालाचाहिँ देखिन्न । त्यो अवस्था अब छैन । २०७९ सालको निर्वाचनबाट संसदको तेस्रो ठूलो दल भए पनि माओवादीले नेपाली काङ्ग्रेस र एमालेलाई ‘रिङ्ग्याइ-रिङ्ग्याइ’ खाइरह्यो । जनमत एकातिर सत्ताचाहिँ अर्काेतर्फ गरियो । यसमा माधव नेपालले पनि साथ दिँदै आए । संसदमा बल्लतल्ल दश सीट जितेको माधवको दलको ‘रुवाइ र मोलमोलाइ’ बढी नै भएको थियो । अहिले माधवसहितका ‘च्याँखेवाला’ दलहरू आफ्नो वास्तविक ‘साइजमा’ आएका छन् । नेता गणेशमान सिँहले ‘पुच्चरले कुकुर हल्लायो’ भनेजस्तो अवस्था देखिन्थ्यो । ‘च्याँखे भ्याकुताहरू’ले ठूला दललाई हल्लाइरहेका थिए । ‘होलसेलले खुद्राबाट दलाली गरी बस्तु किन्नुपर्ने जस्तो’ स्थिति राजनीतिमा निरन्तर हाबी थियो । त्यसले लोकतन्त्रलाई बदनाम पार्दैथियो । उता स्वतन्त्रताको उपभोग गर्ने नाममा अनेकथरि ‘भूँइफुट्टा’ व्यक्ति, बैँकमारा, ठग, तस्कर र दलालहरूको चर्काे स्वर र प्रणालीविरोधी हर्कत ‘टुलुटुलु’ हेर्नुपर्ने अवस्था थियो । यसलाई कुनै पनि मूल्यमा ‘साइजमा’ ल्याउनैपर्ने थियो । एउटा मेयर सिंहदरबारमा ‘आगो’ लगाउने भन्ने, त्यो ठीक हो भन्ने भीड बढ्ने ! यो हुन्छ ? हुँदैन । लोकतान्त्रिक प्रणाली बदनाम बनाउने र गणतन्त्रप्रति भ्रम फैलाउन प्रतिगामी हर्कतलाई लोकतन्त्र ल्याउने दलले नै गल्ती गरेजस्तो गर्दै ‘निमुखा’ जस्तो गरी सहनुपर्ने हुन सक्दैन ।

मूल कुराचाहिँ संविधानका विभिन्न प्रावधान (धारा) संशोधन गर्नैपर्ने अवस्था प्रस्ट देखिएको छ । संवैधानिक त्रुटीका कारण ‘च्याँखे’ बढे । राजनीतिक अस्थिरता बढ्यो । यही कारण ठूला दल मिल्नु पऱ्यो । पहिलो र दोस्रो दल मिल्नु वास्तवमा राजनीतिमा नसुहाउने, नमिल्दो राजनीतिक मार्गचित्र भए पनि अर्काे विकल्प पनि भएन । मिल्नुको विकल्प रहेन । बाध्यताले मिल्नुऱ्यो ।

माधव नेपालको दलको पनि प्रणाली बचाउने, सुदृढ पार्ने र बचाएर अपनत्व लिने कुरामा कहिल्यै प्रस्ट धारणा आएन । लोकतन्त्र र प्रणालीमाथि भइरहेका प्रहारलाई ओली, देउवा विरुद्धका प्रहार ठान्दै ‘खुचिङ्ग’ भन्दै ‘खैँचडी’ बजाएर बसे । अहिले दुई ठूदा दलहरू एजेन्डामा एक भएपछि माधव नेपालको हालत ‘पानीबाट बालुवामा फालिएका भुरा माछाको जस्तो’ भएको देखिन्छ । महाधिवेशन सकिएलगत्तै नेपाली राजनीतिमा भएका नयाँ घटनाले उनलाई ‘छाँगाबाट खसेजस्तो’ अवस्थामा पुऱ्याएको छ । सत्तामा आउन काङ्ग्रेस-एमालेका कतिपय नेताबाट भइरहेका प्रस्ताव नेता नेपाललाई ‘निल्नु कि ओकल्नु’ जस्तो भएको देखिन्छ । ‘टर्राे’ भए पनि औषधि निल्नुपरे बाध्यता भएजस्तै पार्टीमा केही समय मान्छे टिकाउन ‘लोकतन्त्रको लागि’ भन्दै माधव नेपाल सत्तामा आउनेछन्, अर्थात् माधवले सत्ता ‘निल्नेछन्’ । ‘ओकल्न सक्ने’ अवस्था पनि छैन ।