केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै अध्यक्ष ओली

केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै अध्यक्ष ओली


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको कार्यविभाजन गर्नुभएको छ । उहाँको अध्यक्षतामा जारी पार्टी केन्द्रीय सचिवालयको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन हेरफेरबारेमा छलफल सुरु भएको छ ।

बैठकले पार्टी सदस्यता नवीकरणको काम साउन मसान्तसम्म सम्पन्न गर्न निर्देशन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला अधिवेशन भइनसकेका जिल्ला कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गरेको छ । साथै, ती जिल्लाका अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिइएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले पार्टीको भूमि व्यवस्था विभागको सचिवमा विजय सुवेदी र सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेललाई मनोनयन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । बुधबार (२६ असार) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कात्तिक मसान्तभित्र ११ जिल्लामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले गत जेठ मसान्तभित्र अधिवेशन गर्न ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएकामा ६६ जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ । इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङमा अधिवेशन हुन बाँकी छन् ।

यस्तै, सचिवालय बैठकले सबै जिल्लाहरूलाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरी भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको बताइएको छ ।