राप्रपा, जसपा र जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपा, जसपा र जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने



जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार (२८ असार)का दिन प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । प्रतिनिधिसभामा जनमत पार्टीको ६ जना सांसद रहेका छन् ।

‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ’, प्रवक्ता यादवले भनेका छन् ।

जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने समेत निर्णय पनि गरेको छ ।

कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्वीकार्ने निर्णय भएको उनले बताए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सो पार्टीको बिहीबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

साथै, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।